
काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर युट्युबको मुभी सेक्सनमा ५औं स्थानमा ट्रेन्डिङमा आएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रसँगै यसको ट्रेलर पनि दर्शकको चासोको केन्द्र बनेको हो। सकारात्मक वर्ड अफ माउथसँगै चलचित्रले प्रदर्शनरत हलहरूमा राम्रो उपस्थिति देखाएको छ।
चलचित्रले अफ टाइमका शोहरूमा समेत सन्तोषजनक दर्शक उपस्थिति पाइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। “दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको छ,” उनले भने, “हाम्रो चलचित्रको जनरा र विषयवस्तु अनुसार दर्शकबाट राम्रो साथ पाइरहेका छौं।”
निर्माण पक्षका अनुसार चलचित्रको कथा र कलाकारहरूको अभिनयले दर्शकको तारिफ पाइरहेको छ। चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्।
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।
‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो।
चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।











