
पोखरा, जेठ ७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा मंगलबारसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको आयोजकको दाबी छ।
महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार दिनप्रतिदिन भक्तजनको उपस्थितिले कोटिहोम परिसर उत्साहजनक बनेको छ। उनले भने, “भक्तजनको निरन्तर भीडका आधारमा अहिलेसम्म पाँच लाखभन्दा धेरैले दर्शन गरिसकेको आँकलन गरिएको हो।”
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन आउने अनुमान गरिएको छ। सोही दिनदेखि अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्दैछिन्।
कोटिहोममा जेठ १६ गतेसम्म देवी प्रतिभाको प्रवचन रहनेछ भने जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका र समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन कार्यक्रम तय भएको छ। यी प्रख्यात व्यक्तित्वहरूको उपस्थितिले भक्तजनको थप सहभागिता सुनिश्चित गर्ने आयोजकको विश्वास छ।
भक्तजनबाट उल्लेखनीय सहयोग
कोटिहोममा भक्तजन तथा संस्थाहरूबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ। सहयोगकर्ताहरूमा काठमाडौंकी कलाकवि चापागाईं (१ लाख १ हजार), पोखरा-१५ पुन महिला समूह (७३,५५५), जागृति दिदीबहिनी समूह पोखरा–७ (२५,५२५), पोखरा–५ का भगवान अधिकारी परिवार (२५,५५५) लगायतका व्यक्ति तथा समूहहरू रहेका छन्।
धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको बहुआयामिक आयोजना
महायज्ञ अन्तर्गत विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भइरहेका छन्। श्री रत्न ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले दर्शन गरेका छन्। जेठ ९ र १० गतेसम्म फरक क्षमता भएका व्यक्तित्व, गुरु, धर्मगुरु तथा सामाजिक अभियन्ताहरूलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।
कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, निःशुल्क मोटिभेसन कार्यक्रम (डा. तारा प्रसाद गिरीद्वारा), भजन प्रतियोगिता र रक्तदान जस्ता कार्यक्रमहरू सञ्चालनमा छन्।
मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित कोटिहोम ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माण सहयोगार्थ आयोजना गरिएको हो। सनातन धर्मको रक्षा र जातीय सांस्कृतिक जगेर्ना पनि कोटिहोमको मूल उद्देश्य हो।
व्यापक धार्मिक अनुष्ठान
महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणहरूले दैनिक आहुति दिइरहेका छन्। भक्तजनका लागि तुलादान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ कर्म, हनुमान चालिसा, सहस्रार्चन, श्रीसूक्त पाठ, रुद्राभिषेक लगायत विविध अनुष्ठानको व्यवस्था गरिएको छ।
पितृ उद्धार, वैवाहिक जीवनको सफलता, समृद्धिका लागि २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह कार्यक्रम र अन्य आध्यात्मिक गतिविधिहरू पनि समावेश छन्।
सांस्कृतिक झाँकी र प्रस्तुति
जेठ १० गते दरौँ सिरुवारिबाट स्थानीय जातीय समूहद्वारा झाँकी प्रस्तुत गरिने छ। थाली नृत्य विशेष आकर्षण हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको भजन, नृत्य, देवलीला, झाँकी लगायतको प्रस्तुति पनि महायज्ञको आकर्षण बनेको छ।
कोटिहोम कार्यक्रम पोखरा-१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्र र आसपासको जग्गामा जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।











