
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो।
चलचित्रको निर्देशन बलिराम चौहानले गर्नेछन्। चौहान यसअघि बहुप्रतीक्षित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा कार्यरत थिए। ‘द ब्ल्यू लाइट’ चौहानको निर्देशनमा डेब्यु हुने चलचित्र हो।
स्काइफल पिक्चर्स को प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माताको रूपमा रहनेछन् भने नरेन्द्र मैनाली ले छायांकन गर्नेछन्। निर्देशक चौहानका अनुसार चलचित्र सन् २०२५ भित्रमै प्रदर्शनमा आउने योजना रहेको छ।
सार्वजनिक थिम पोस्टरमा निलो रंगको झल्कोबीच एक बालिका उभिएको देखिन्छ। पोस्टरमा उनको कम्मरदेखि माथिसम्मको पछाडि भाग मात्र देखिएको छ। लामो कपालसहित प्रस्तुत गरिएको बालिकाको हाउभाउ हेर्दा उनी मानसिक रूपमा असामान्य अवस्थामा रहेको अनुमान गर्न सकिन्छ, यद्यपि यो स्पष्ट छैन।
निर्देशक चौहानले चलचित्रको कथा र थिम पोस्टरले भन्न खोजेको सन्देश हाल खुलाएका छैनन्। कलाकारसम्बन्धी जानकारी पनि सार्वजनिक गरिएको छैन। निर्देशकले केही समयपछि कलाकारको लाइनअप सार्वजनिक गरिने जानकारी दिएका छन्।
उनले भनेका छन्, “हामी विस्तारै चलचित्रबारे थप जानकारी सार्वजनिक गर्दै जानेछौँ। कलाकारको विषयमा पनि छलफल भइरहेको छ, फाइनल भएपछि जानकारी दिनेछौँ। अहिले बनारमा चर्चित कलाकारहरू नै हाम्रो सिनेमामा रहनेछन्।”















