जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शनमा, विजय बराल र केकी अधिकारी मुख्य भूमिकामा

-


     हिडन खबर    
     जेठ ६ गते २०८२ मा प्रकाशित


काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार चलचित्रको कथासँग जोडिएको सांकेतिक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र एक युवाले आमाको खोसिएको खुसी फिर्ता ल्याउन घर छाडेर सहर पस्ने यात्राको कथामा आधारित छ। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रमा आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र अहिले पोस्ट प्रोडक्सन चरणमा छ। ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत यस चलचित्रका एसोसिएट निर्देशक हुन्। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता कमल न्यौपाने र विमल न्यौपाने छन् भने सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा लगायत रहेका छन्।

‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो पहिलो चलचित्र हो। चलचित्रको फस्टलुक पोस्टर चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।