
दैलेख, जेठ ५ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको अवधारणा पहाडी क्षेत्रमा बसाइसराइ न्यूनीकरण, व्यवस्थित सहर निर्माण, पर्यटन र उद्योग प्रवर्द्धनका लागि अघि सारिएको स्पष्ट पार्नुभएको छ।
दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको विकास र समृद्धिमा सबै राजनीतिक दलहरूको एकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। “मध्यपहाडी लोकमार्ग अभियान अब माओवादीको मात्रै होइन, सबै दलहरूको साझा अभियान बनेको छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघ लगायत विभिन्न निकायका प्रतिनिधिहरूले पूर्वाधार, पर्यटन, उद्योग र स्थानीय आवश्यकता सम्बन्धी माग र सुझाव प्रस्तुत गरेका थिए। उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डलाई बुझाएको थियो।
अध्यक्ष प्रचण्डले दैलेखमा पर्ने करिब १२५ किलोमिटरको खण्ड मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो खण्ड रहेको जानकारी दिँदै यसले स्थानीय विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले दैलेख पेट्रोलियम खानीको सम्भावनाबारे पनि चर्चा गर्दै यसबारे अनुसन्धान नमुना चीन पठाइएको र थप जानकारीका लागि चिनियाँ पक्षसँग छलफल गरिने जानकारी दिनुभयो।














