
नायिका वर्षा राउत नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छन्। कलाकारहरूको लाइनअप विस्तार गर्दै निर्माण टिमले राउतलाई फिल्ममा भित्र्याएको हो।
यसअघि नै अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेत ‘महाराजधिराज’ मा अनुबन्ध भइसकेका छन्। अब वर्षा राउतको पनि सहभागीता भएपछि चलचित्रमा स्टारकास्टको बाक्लो उपस्थिति देखिएको छ।
चलचित्रको निर्देशन परिच्छेद सेनले गर्नेछन्। उनी स्वयंले यस चलचित्रको कथा लेखेका छन्। सेन निर्देशित पछिल्लो चलचित्र ‘प्रेमगञ्ज’ ले समीक्षक र दर्शकको प्रशंसा बटुल्न सफल भएको थियो।
‘महाराजधिराज’ को पोस्टर केही समयअघि सार्वजनिक भइसकेको छ भने फिल्म आउँदो फूलपातीको अवसरमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन्। बिष्टले यसअघि निर्माण गरेको चलचित्र ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड जितेको थियो।
चलचित्रका निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्।












