
पोखरा, जेठ ५ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको छ। आयोजकका अनुसार सांस्कृतिक विविधता संरक्षण र सनातन धर्मको प्रचारप्रसार उद्देश्यले हरेक दिन फरक–फरक समुदायको संस्कृति प्रस्तुत गरिनेछ।
आइतबार नवलपुरको मध्यविन्दु नगरपालिका–३ बाट आएका टोलीले थारु समुदायको लाठी नाच, झमटा र झुमरा नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनमा दरौँ सिरुवारी लगायतका क्षेत्रबाट आउने टोलीले आ–आफ्नो संस्कृति प्रदर्शन गर्ने छन्।
कोटिहोममा नेपालका ख्यातिप्राप्त कलाकार र साधु–सन्तको प्रवचन तथा भजन दिनहुँ भइरहेको छ। भजन गायक रेशम सापकोटा, लोक गायिका राधिका हमाल, हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, गायक राजु ढकाल, गायिका हरिदेवी कोइराला र अभिनेता राजेश हमालजस्ता व्यक्तित्वको सहभागिता रहने कार्यक्रम संयोजकले जानकारी दिएका छन्।
कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। हवन, पार्थिव शिवलिंग निर्माण, तुला दान, पितृ उद्धार र शुभ विवाहजस्ता धार्मिक कर्ममा सहभागी हुने अवसर समेत उपलब्ध गराइएको आयोजक मानव सेवा फाउन्डेसनले जनाएकाे छ ।











