अध्यक्ष प्रचण्डलाई अछाममा स्वागत, ज्ञापनपत्र बुझाइयो

-


     हिडन खबर    
     जेठ ५ गते २०८२ मा प्रकाशित


अछाम, जेठ ४, हिड्न खबरमध्यपहाडी लोकमार्ग अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली अछामको पञ्चदेवल विनायक नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएको छ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेकी थिइन्। उक्त ज्ञापनपत्रमा नगरभित्रका सडक सुधार, विद्युत् विस्तार, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण लगायतका प्राथमिकताहरू समेटिएको नगर स्रोतले जनाएको छ।

अध्यक्ष प्रचण्डले ज्ञापनपत्र ग्रहण गर्दै संक्षिप्त सम्बोधनमा पञ्चदेवल विनायक नगरवासीको स्वागतप्रति आभार व्यक्त गर्दै स्थानीय तहका आवश्यकता र मागप्रति सकारात्मक ध्यानाकर्षण गराएका थिए। उनले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरेर सम्भव भएसम्मका मागहरू पूरा गर्न पहल गर्ने आश्वासन पनि दिए।

मध्यपहाडी लोकमार्ग अभियानको सिलसिलामा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली अछामको विभिन्न स्थानमा पुगेर अवलोकन भ्रमण गरिरहेको छ। अभियानले पहाडी क्षेत्रका भौतिक पूर्वाधार र विकासलाई केन्द्रमा राखेर समग्र राष्ट्रिय एकता र समृद्धिको मार्ग निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको बताइएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका व्यक्तिहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।