
कल्पना मगर
सबैजना सोध्छन् —
के छ? कस्तो छ?
म भन्छु — ठिक छ।
तर भन्न सक्दिन कि
म बेठिक छु, बेहाल छु।
तिमी पनि सोध न —
“के छ? कस्तो छ?” भनेर।
तिमीलाई पनि म यही भन्नेछु —
सबै ठिक छ, सबथोक ठिक छ,
मात्र तिमी छैनौ।
झरीसँगै आउछौ कि भनेर,
तिमीलाई पर्खिरहेका रसिला आँखा छन्।
तिम्रै लागि खाली यो मन छ,
तर तिम्रो आगमन छैन।
छन् त —
सबै छन्, यादहरू छन्,
तिमी संगका ती पलहरू छन्।
मनमा पिरलो छ,
तिमीले गरेका छलहरू छन्।
छटपटी छ,
कसैले लुट्न नसकेको तनाव छ।
तिम्रै लागि बलि चढाएका
रहरहरूको श्राप छ,
तर तिम्रो अभाव छ।
के छैन र मसँग? —
सबै छ —
तिमीले गरेका झुटा बाचा छन्,
देखाएका झुटा सपना छन्।
छातीमा हिर्किरहने तिम्रा याद छन्।
प्रेमले मुटु चिरेको पीडा छ,
असफलताको भारी छ।
के छैन र मसँग? —
सबै छ।
अनि तिमीलाई कस्तो छ?
के छ तिमी सँग?
मसँग त तिमीप्रतिको प्रेम छ,
सम्मान छ, आस्था छ —
तिमीमा देखेको संसार छ,
सबै सबै छन्,
मात्र तिमी छैनौ।












