आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

- २७ लाखलाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने

-


     हिडन खबर    
     वैशाख ६ गते २०७९ मा प्रकाशित


नेपाल सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

बैशाख ६ गते आज र ७ गते भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
यस वर्ष २७ लाख बालबालिकालाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने मन्त्रालयले जनाएको छ ।