
सुर्खेत, वैशाख २९
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमाथि हालको सरकारले देखाएको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाउँदै, “कर्णालीमाथि अपमान र अन्याय सहिंदैन” भन्ने चेतावनी दिएका छन्।
सोमबार सुर्खेतमा सुरु भएको वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी गणतन्त्र निर्माणका लागि माओवादी अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे। “कर्णाली जनयुद्धको ऐतिहासिक भूमि हो। यहाँका जनतालाई राज्यले विभेद गर्दै आएको छ, त्यसविरुद्ध फेरि एकजुट हुनुपर्ने समय आएको छ,” उनले भने।
उनले वर्तमान सरकार ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर जनताको अपमान गरिरहेको आरोप लगाउँदै, “यो सरकार भ्रष्टाचार र दलालीको संरक्षण गर्दैछ, जनताको आवाज दवाइरहेको छ,” भनी टिप्पणी गरे। साथै, संविधान संशोधन गर्दै सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे।
प्रचण्डले माओवादी बलियो भए मात्र समाजवादी गणतन्त्र सशक्त हुने भन्दै, “७७ वटै जिल्लामा पुगेर आन्दोलन सशक्त बनाइन्छ,” घोषणा गरे।
दुई दिने सम्मेलनमा कर्णालीका ७१८ प्रतिनिधिहरू सहभागी छन्, जहाँ सांगठनिक सुदृढीकरण र भावी रणनीति तय गरिँदैछ।












