पोखरामा हजार कन्याको पूजा, हजार ज्येष्ठ नागरिकलाई सम्मान

-


     हिडन खबर    
     वैशाख २३ गते २०८२ मा प्रकाशित


पोखरा, १७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा विशेष कार्यक्रम अन्तर्गत १,००० भन्दा बढी बालिकाको पूजा र ७० वर्ष माथिका १,००० ज्येष्ठ नागरिकको सम्मान हुने भएको छ।

कार्यक्रमका प्रचार संयोजक लेखराज ढकालका अनुसार आगामी शनिबार ३ देखि ९ वर्ष उमेर समूहका कन्याहरुको विशेष पूजन हुनेछ भने ज्येष्ठ नागरिकलाई गीता र रामनाम पुस्तक वितरणसहित सम्मान गरिनेछ।

महायज्ञमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। १०८ श्रीमद्भागवत पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री र मन्त्रजप जारी छ।

त्यस्तै, देशव्यापी खुला भजन–चुट्का प्रतियोगितामा ३०० भन्दा बढी सहभागी छन्, जसमा प्रथम स्थानले रु. ३,५५,५५५ पुरस्कार जित्नेछ।

भारतीय प्रवचनकर्ता आचार्य प्रशान्त कृष्णसहित नेपाल र भारतका ख्यातिप्राप्त धर्मगुरुहरूले प्रवचन दिइरहेका छन्। दैनिक रक्तदान पनि भइरहेको छ।

राजनीतिक नेताहरूको समेत बाक्लो उपस्थिति रहेको महायज्ञ जेठ २६ सम्म पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा चल्नेछ।