
काठमाडौं । नेपाली चलचित्र महाराजधिराज मा एकपछि अर्को चर्चित कलाकार अनुबन्ध भइरहँदा फिल्मको चर्चा थप चुलिँदो छ।
चलचित्रका निर्देशक परिच्छेद सेनले यसअघि प्रेमगञ्ज निर्देशन गरिसकेका छन्, जुन समीक्षात्मक रूपमा प्रशंसित ठहरिएको थियो। उनको निर्देशनमा बन्न लागेको महाराजधिराज मा नायक पल शाह, रमेश उप्रेती र हालै मात्र अनुबन्धित आर्यन सिग्देलको नाम सार्वजनिक भइसकेको छ। निर्माण पक्षका अनुसार आर्यन मुख्य भूमिकामध्ये एकमा देखिने छन्।
आर्यनले महाराजधिराज मा नयाँ र फरक चरित्रमा अभिनय गर्न लागेकामा उत्साह व्यक्त गरेका छन्। उनले यो भूमिका आफ्ना लागि चुनौतीपूर्ण हुने उल्लेख गर्दै दर्शकका लागि पनि नयाँ स्वाद दिने बताए।
चलचित्रमा नायक जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ। निर्देशक सेनकै लेखनमा तयार भइरहेको यो फिल्म आगामी फूलपातीको अवसरमा प्रदर्शनमा ल्याउने तयारीमा छ।
चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि बुलाकी निर्माण गरेका थिए। बुलाकी ले राष्ट्रिय फिल्म पुरस्कार समेत जितेको थियो। महाराजधिराज का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्।
निर्माण पक्षका अनुसार फिल्मका केही प्रमुख कलाकारको नाम अझै सार्वजनिक गरिएको छैन। बाँकी कलाकारहरूको घोषणा भएपछि लाइनअप झनै बलियो र रोचक हुने अपेक्षा गरिएको छ।









