‘जार’का लागि अन्य फिल्मभन्दा १० गुणा बढी मेहनत गरेँ : अनुपविक्रम शाही

-


     हिडन खबर    
     वैशाख २० गते २०८२ मा प्रकाशित


दार्जिलिङ । प्रदर्शनीको तयारीमा रहेको नेपाली फिल्म ‘जार’ का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यस फिल्ममा काम गर्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि भएको बताएका छन्।

फिल्मको प्रचारप्रसारका लागि भारतको दार्जिलिङ पुगेका शाहीले त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै इन्द्रबहादुर राई द्वारा लिखित ऐतिहासिक कृतिमा आधारित फिल्ममा अभिनय गर्नु गर्वको विषय भएको बताए।

यो फिल्म मेरो लागि विशेष छ,” उनले भने, “मैले अघिसम्म निभाउँदै आएको भूमिकाबाट बाहिर निस्केर यो पटक बिल्कुलै फरक पात्रलाई प्रस्तुत गरेको छु। ‘जार’मा ‘हर्षजीत’ पात्रको भूमिकामा जान मैले अन्य कुनै फिल्मभन्दा १० गुणा बढी मेहनत गरेको छु।”

सिक्किम र दार्जिलिङका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा आफू निकै खुसी भएको उल्लेख गर्दै उनले ‘जार’ गोर्खाली पुर्खाहरूको इतिहास बुझ्न उपयुक्त माध्यम हुने विश्वास व्यक्त गरे।

फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले ‘जार’ सयौं वर्ष पुरानो गोर्खाली समाजको कथा भएको उल्लेख गर्दै नयाँ पुस्तालाई समर्पित फिल्म भएको जानकारी दिए। “यो फिल्म हामीले गोर्खालीका लागि बनाएका हौं,” उनले भने, “आइबी राईज्यूको कथालाई सकेसम्म जस्ताको तस्तै पर्दामा उतार्ने प्रयास गरेका छौं।”

कार्यकारी निर्माता ज्योति क्षेत्रीले उत्कृष्ट फिल्म निर्माणका लागि लगानीमा कुनै सम्झौता नगरिएको स्पष्ट पारिन्। सिक्किममा आयोजित प्रिमियरमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया उत्साहजनक भएको उल्लेख गर्दै उनले यही मे ९ (वैशाख २६) देखि नेपाल, सिक्किम र दार्जिलिङमा एकसाथ प्रदर्शन हुने जानकारी दिइन्।

फिल्ममा अनुपविक्रम शाहीसँगै अभिनेता सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका रहेको छ।