चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

-


     हिडन खबर    
     वैशाख १९ गते २०८२ मा प्रकाशित


काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा उक्त ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले घर र डेराबीचको सामाजिक तथा भावनात्मक अन्तरलाई चित्रण गरेको छ। विशेषगरी, घरप्रतिको मोहले ल्याउने समस्याहरू—जसले आर्थिक कारोबारदेखि पारिवारिक सम्बन्धसम्ममा असर पार्छ—स्पष्ट रुपमा देखाइएको छ। चलचित्रमा घरलाई प्रतिष्ठाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसले अहिलेको समाजमा देखिएको वास्तविकतालाई उजागर गर्छ।

युवाहरूले घर जोगाउन तथा जोड्न गर्ने संघर्ष र त्यसले निम्त्याउने नकारात्मक परिणामहरूलाई निर्देशकले प्रस्ट रूपमा देखाएका छन्।

‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’जस्ता चर्चित सामाजिक कथामा आधारित चलचित्रहरू निर्देशन गरिसकेका खनालको यो नयाँ चलचित्र जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले पहिलोपटक चलचित्र लेखनमा हात हालेका छन्। चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो।

यसमा छायांकन कृष्णबहादुर थापाले गरेका छन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। कार्यकारी निर्माताको भूमिका युवराज कार्कीले निर्वाह गरेका छन्।