“धर्म बिना राजनीति सम्भव छैन”: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

-


     हिडन खबर    
     वैशाख १७ गते २०८२ मा प्रकाशित


पोखरा, १७ वैशाख — पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिरको प्राङ्गणमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोम महायज्ञ धार्मिक तथा सांस्कृतिक उत्सवको प्रमुख केन्द्रको रूपमा स्थापित भइरहेको छ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् सुरु भएको कार्यक्रममा चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचन प्रारम्भ भएको हो। हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले वैशाख १८ गतेसम्म दैनिक कथा वाचन गर्ने कार्यतालिका तय भएको छ। यस कथाले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाउँदै आएको आयोजक समितिले जनाएको छ।

सो महायज्ञमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संविधानसभा सदस्य ज्ञानेन्द्र शाही सहभागी भएका थिए। बिहान सम्पन्न कलश यात्रापछि भोलिदेखि औपचारिक रूपमा कोटीहोम सुरु हुने जानकारी आयोजक समितिले दिएको छ।

कार्यक्रममा प्रवक्ता शाहीले धर्म र राजनीतिबीचको सम्बन्धबारे मन्तव्य दिँदै भने, “धर्म बिना राजनीति हुँदैन। गौमाताको हत्या गर्ने हत्यारा नै हो। अब धर्म बचाए मात्र भोलि हाम्रा छोरीचेली, दिदीबहिनी बच्नेछन्।”

उनले धर्मको नाममा अधर्म गर्नेहरूप्रति चेतावनी दिँदै भने, “धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१% हिन्दु प्रतिकार गर्न निस्किन्छौं।” साथै, उनले जोड दिँदै थपे, “धर्म मान्नेले पाप गर्दैन, जसले धर्म मान्दैन त्यसले भ्रष्टाचार गर्छ।”

शाहीको अभिव्यक्तिले धार्मिक आस्था, नैतिकता र सामाजिक सुशासनबीचको गहिरो सम्बन्धलाई उजागर गरेको देखिन्छ।