बागलुङमा अवैध गोटी खेलाइ पैसा असुल्ने पक्राउ, तर प्रहरीले कारबाही नगरी फिर्ता पठायाे

-


     हिडन खबर    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


बागलुङ, वैशाख १५ – बागलुङ नगरपालिका–१ वाङ्गेचौरस्थित लामो पुल परिसरमा अवैध गोटी खेलाइ स्थानीयसँग पैसा असुल्ने दुई जनालाई नगर प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाए पनि प्रहरीले कारबाही नगरी फिर्ता पठाएको छ।

नगर प्रहरीले सोमबार पोखरा महानगरपालिका–१७ का कृष्ण घिमिरे र जैमिनी नगरपालिका–६ का कृष्ण थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। उनीहरूको साथबाट ३ थान गोटी र नगद १० हजार ३३० रुपैयाँ समेत बरामद गरिएको नगर प्रहरीले जनाएको छ।

तर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलका अनुसार नगर प्रहरीले कानुनी प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिएको र अधिकार क्षेत्रभन्दा बाहिर गई पक्राउ गरेको भन्दै दुवै जनालाई फिर्ता पठाइएको हो। उनले भने, “मुचुल्का नउठाई नियन्त्रणमा लिएको र कानुनी प्रक्रिया पुरा नगरेकोले मुद्दा चलाउन जटिलता हुने भएपछि फिर्ता गर्नुपर्‍यो।”

स्थानीयले लामो समयदेखि पुल परिसरमा अवैध गोटी खेलाइ पैसाको ठगी भइरहेको भन्दै आवाज उठाउँदै आएका थिए। यसअघि पनि नगर प्रहरीले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भए पनि प्रहरीले चासो नदिएको नगरपालिकाले जनाएको छ।

बागलुङ बजारका विभिन्न होटल, रेष्टुरेन्ट र निजी घरहरूमा पनि जुवा–तास, कौडा र पासा खेलाइने कार्य निरन्तर भइरहे पनि प्रहरीले प्रभावकारी रुपमा कारबाही नगरेको भन्दै स्थानीयहरुले गुनासो पोखेका छन्।

नगर प्रहरीले नियन्त्रणमा दिएका युवालाई प्रहरीले लिन नमानेपछि नगरपालिकाले उनीहरूलाई छाड्न बाध्य भएको जनाएको छ।
तस्बिर प्रतिकात्मक