
पोखरा, वैशाख १४ — गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।
यस अवसरले गण्डकी कोटिहोमको सामाजिक तथा धार्मिक पहललाई थप प्रेरणा र ऊर्जा दिने अपेक्षा गरिएको छ। प्रमुख दाहालको उपस्थितिले कार्यक्रमको गरिमा र महत्त्वलाई अझ बढाउने आयोजकहरू बताउँछन्।
गण्डकी कोटिहोममा हाल ४१ दिनसम्म चल्ने महायज्ञ जारी छ, जसले ठूलो संख्यामा भक्तजनको ध्यान आकर्षित गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेपछि महायज्ञमा घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्रीसहित सहभागी हुन भक्तजनलाई निम्तो दिइएको छ।
महायज्ञमा सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाद्वारा कथा प्रवचन सुरु भइसकेको छ। साथै, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती तथा सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन गरिनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिँदैछ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ।
देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति अपेक्षित गरिएको छ। गण्डकी कोटिहोममार्फत देवी प्रतिभाले दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण तथा सांस्कृतिक संरक्षणमा पु¥याएको योगदानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
रेनु दाहालको विशेष उपस्थितिसँगै महायज्ञ उत्सवले गण्डकी कोटिहोमको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।












