पत्रकार सविना कार्कीमाथि प्रहरीद्वारा आक्रमण, प्रेस सेन्टर नेपालको गम्भीर आपत्ति

-


     हिडन खबर    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख १४ — काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच आइतबार भएको झडपका क्रममा प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्की गम्भीर घाइते भएकी छन्। स्थलगत रिपोर्टिङका क्रममा प्रहरीले प्रहार गरेको फोहर पानीले कार्कीका दुवै आँखामा गम्भीर चोट लागेको छ।

यो घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सेन्टरले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनामा पहुँच अधिकारमाथि गम्भीर आघात भएको भन्दै घटनाको भर्त्सना गरेको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै प्रेस सेन्टर नेपालले घाइते पत्रकार कार्कीको निःशुल्क र प्रभावकारी उपचारको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। साथै, पत्रकारहरू र सञ्चार क्षेत्रमाथि भइरहेका दमन र आक्रमण रोक्न सबै सरोकारवालासँग सामूहिक प्रतिवादको आह्वान गरेको छ।