
काठमाडौं।
“पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ…”
जीवनको गहिरो सत्य बोकेको यी हरफ चलचित्र *‘के घर के डेरा : घर नं २’*को टिजरबाट लिइएका हुन्, जसले दर्शकको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने प्रयास गरेको छ।
निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो चलचित्रले मानिसको जीवन, मृत्यु र अस्तित्वबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्छ। “तेरो–मेरो के कुरा, के घर, के डेरा…” भन्ने भावले हामी सबै अन्ततः एउटै अन्त्यतिर अग्रसर छौं भन्ने यथार्थलाई फिल्मले उजागर गर्न खोजेको छ।
सामाजिक र भावनात्मक रूपमा बलियो कथामा आधारित यो चलचित्रले मान्छेले धन, सम्पत्ति र ‘मेरो–तेरो’को मोहमा बिताउने जीवनको वास्तविकता देखाउने छ। जति नै मान्छेले संसारको सुख भोगे पनि, अन्त्यमा चिताको धुँवा मात्र बाँकी रहन्छ भन्ने गम्भीर सन्देश टिजरकै संवादहरूबाट झल्किन्छ।
बुद्धिसागरको पहिलो पटक लेखिएको फिल्मी कथा
प्रख्यात लेखक बुद्धिसागरले लेखेको यो उनको पहिलो पटकको फिल्मी स्क्रिप्ट हो। ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता चर्चित उपन्यास लेखेका बुद्धिसागरले यसपटक सिनेमामा जीवन दर्शनको झल्को दिने कथा बुनेका छन्।
अभिनय र निर्माण
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, र सुरज विष्टको दमदार अभिनय रहनेछ।
‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो। चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। छायांकन कृष्णबहादुर थापाको रहेको छ।
जेठ २ गतेदेखि देशभर प्रदर्शन
जीवनको अन्तिम यथार्थतर्फ ध्यान खिचाउने यो चलचित्र जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने छ। चलचित्रले दर्शकलाई न्यानो अनुभूति मात्र होइन, जीवनका महत्वपूर्ण पक्षहरूलाई आत्मसात् गर्न बाध्य पार्ने अपेक्षा गरिएको छ।
Teaser Link: https://www.youtube.com/watch?v=JwWSyYhhYnE
















