के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

-


     हिडन खबर    
     वैशाख ९ गते २०८२ मा प्रकाशित


सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मङ्गलबार ‘आँखा’ बोलको लिरिकल गीत सार्वजनिक गरेको हो।

जेठ २ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको गीतमा रिकेश गुरुङको सुमधुर स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको छ।

प्रेम जोडीको कथा बोकेको गीतको भिडियोमा प्रमुख कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीको प्रेमिल क्षणहरू समेटिएको छ। गीतमार्फत प्रेमी–प्रेमिकाको आँखामा झल्किएको प्रेमभाव देख्न सकिन्छ। भिडियोमा चलचित्रका केही दृश्यहरू समेत प्रयोग गरिएको छ।

‘के घर के डेरा : घर नं २’ चर्चित लेखक बुद्धिसागरको पहिलो पटक लेखिएको फिल्मी कथा हो। ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता उपन्यासबाट पाठकको मन जितेका लेखक बुद्धिसागरले सिनेमाका लागि लेखिएको यो पहिलो पटक हो।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्ट लगायतको अभिनय रहेको छ।

सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनले संयुक्त रूपमा निर्माण गरेका हुन्। सिनेमाको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा छन्। कार्यकारी निर्मातामा युवराज कार्की रहेका छन्।

Song Link:- https://www.youtube.com/watch?v=hYDM7l0PKE8