नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताको चासो, ७० करोड लगानीको तयारी

-


     हिडन खबर    
     वैशाख ७ गते २०८२ मा प्रकाशित


बाँके, ६ वैशाख – बाँकेको नरैनापुर गाउँपालिकामा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानी भित्र्याउने पहल तीव्र बनाइएको छ। सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि भारतीय लगानीकर्तासँग विस्तृत छलफल गरिएको हो।

शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी नमूना, खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनिराम ओली, सौर्य ऊर्जा विज्ञ भरत विश्वकर्मा र प्रेस विज्ञ आलम खान लगायतले भारतीय लगानीकर्तासँग परियोजनाबारे छलफल गरेका थिए।

गाउँपालिका अध्यक्ष शाहले नरैनापुर क्षेत्र विकासका दृष्टिले पछाडि परेको भन्दै सौर्य ऊर्जा परियोजना यहाँको सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बन्न सक्ने बताए। “नरैनापुरमा रहेको खाली जग्गालाई एकीकृत रूपमा उपयोग गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यसहित विदेशी लगानी भित्र्याउने पहल थालेका छौं,” उनले भने।

कार्यक्रममा सहभागी भारतीय लगानीकर्ता रोहनराज हेडजेले करिब ७० करोड रुपैयाँ लगानी गरेर सौर्य ऊर्जा उत्पादन गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “यदि सरकारी तहबाट आवश्यक समन्वय भयो भने हामी चाँडै नै नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन सुरु गर्न तयार छौं।”

प्रारम्भिक चरणमा १० मेगावाट क्षमताको सोलार परियोजना सञ्चालन गरी वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गरेर राष्ट्रिय ग्रिडमा जोड्ने योजना रहेको उनले जानकारी दिए।

प्रदेशसभा सदस्य केसीले परियोजना सफल भएमा नरैनापुर मात्र होइन, राप्ती सोनारी र डुडुवा गाउँपालिकाका नागरिकले समेत कृषि तथा अन्य व्यवसायमा प्रत्यक्ष लाभ लिन सक्ने बताए।

सरकारको नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार १५०० वाट पिक क्षमताभन्दा बढी सौर्य प्रणाली जडान गर्न व्यावसायिक प्रयोजनमा ५०% र घरायसी प्रयोजनमा ७५% ब्याज अनुदानको व्यवस्था छ। त्यस्तै, केन्द्रीय नवीकरणीय ऊर्जा कोष सञ्चालन निर्देशिका, २०७१ अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुने क्याप्टिभ आयोजनालाई पाँच वर्षसम्म ५०% ब्याज अनुदान र प्रतियुनिट १ रुपैयाँ ५० पैसा भायबिलिटी ग्याप फन्डिङ (VGF) उपलब्ध गराउने प्रावधान पनि छ।

स्थानीय बासिन्दाहरूले पनि सौर्य ऊर्जा परियोजनाबाट नरैनापुरको मुहार फेर्न सकिने विश्वास व्यक्त गरेका छन्।