गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भइरहेको छ : वडा अध्यक्ष प्रधानाङ्गा

-


     हिडन खबर    
     वैशाख ७ गते २०८२ मा प्रकाशित


पोखरा, ७ वैशाख – पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को अवसरमा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रममा सहभागीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ।

शनिबार कथा प्रवचनको पहिलो दिन पोखरा–२ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा प्रमुख अतिथिका रूपमा सहभागी भए। उनले महायज्ञ सञ्चालनका लागि स्थान उपयुक्त रहेको बताउँदै पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई अझ सुदृढ बनाउन यस्ता आयोजनाहरूले सहयोग पुर्‍याउने धारणा राखे।

“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ उपयुक्त स्थानमा सञ्चालन भएको छ। यसलाई सफल बनाउन हामी सबैको दायित्व हो। पोखराबासीको त अझ विशेष जिम्मेवारी हो,” उनले भने।

वडा अध्यक्ष प्रधानाङ्गाले पोखरालाई विश्वमै चिनाउने कार्यमा धार्मिक अनुष्ठानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “पोखरा आफैं पर्यटकीय नगरी हो। यस्ता कार्यक्रमले पर्यटन वर्ष सफल पार्न सहयोग पुर्‍याउँछ,” उनले जोड दिए।

कार्यक्रममा देवी प्रतिभा, आचार्य शीतलकृष्ण महाराजलगायतका विद्वानहरूले कथा प्रवचन गरेका थिए।