
चितवन :
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरमा सडक निर्माण गर्दा युटिलिटी करिडोरको अवधारणा अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत छ लेनमा विस्तार गरिएको गोंद्राङ–पुलचोक सडक खण्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले विकास निर्माणलाई व्यवस्थित बनाउने र दोहोरिएर सडक नबन्नुपर्ने अवस्थाका लागि युटिलिटी करिडोर आवश्यक रहेको बताए।
“सहरको बीचमा सडक बनाउँदा ढल, खानेपानी, फाइबर जस्ता युटिलिटी व्यवस्थापन गर्न पहिल्यै योजना बनाउनुपर्छ,” सिंहले भने, “सडक बनेको केही समयमै फेरि भत्काएर पाइप बिछ्याउने प्रवृत्ति हटाउन अब युटिलिटी करिडोरको अवधारणामा जानैपर्छ।”
उनले वर्तमान सरकार पूर्वाधार निर्माणमा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै जनताले चाहेका कामहरू गर्न समय लागे पनि ‘डेलिभरी’ सुरु भइसकेको दाबी गरे।
“राम्राे काम होस् भन्ने जनताको चाहना छ। त्यसका लागि समय लाग्छ। धेरै कुरा गर्नुभन्दा काम गरेर देखाउनु आवश्यक छ,” उनले भने, “डेलिभरी बिस्तारै हुँदैछ।”
त्यस्तै, उपप्रधानमन्त्री सिंहले संघीयताअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयमा अघि बढेको आयोजनाले मात्रै सफलता पाउने स्पष्ट पारे। उक्त ६ लेनको सडक विस्तार परियोजना त्यसको उदाहरण भएको उनले बताए।
सिंहले सडक विस्तारसँगै सहरमा आवागमन सहज हुने, आर्थिक गतिविधि बढ्ने र पूर्वाधार निर्माणको गति तीव्र हुने विश्वास व्यक्त गरे।














