
शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। अहिले पनि दर्शकको उल्लेखनीय उपस्थिति कायम रहेको छ भने, चलचित्रले हालसम्म पाँच करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ देशभरका १३ सिनेमा हलमा ५१ औँ दिन मनाइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।
उच्च अकुपेन्सीसहित प्रदर्शन जारी
चलचित्रले रिलिजको पहिलो दिनमै एक करोड १० लाख रुपैयाँको ग्रस कमाइ गरेको थियो। श्रेष्ठका अनुसार, “चलचित्रले राम्रो दर्शक प्रतिक्रिया पाइरहेको छ र हालसम्म उच्च अकुपेन्सीसहित चलिरहेको छ।”
काठमाडौंदेखि मोफसलसम्मको प्रदर्शन
काठमाडौं उपत्यकामा क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज र सिडिसी सिनेमा तथा मोफसलमा झापाको विर्तामोडस्थित क्युएफएक्स, दमकको डिम्याक्स सिनेमाज, बुटवलको आइएनआई सिनेमाजलगायतका हलहरूमा चलचित्र प्रदर्शन भइरहेको छ।
सक्किगोनी समूहको पहिलो फिचर फिल्म
कर्णालीको कथाव्यथा प्रस्तुत गर्ने सिनेमामा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी र अर्पण थापा मुख्य भूमिकामा छन्।
त्यसैगरी, कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत लगायत कलाकारको अभिनय रहेको छ।
कुमार कट्टेल निर्देशित चलचित्रका सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का हुन्। छायाँकार सुदीप बराल हुन्।
‘सक्किगोनी’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो, जसले दर्शकमाझ राम्रो स्थान बनाएको देखिएको छ।

