चलचित्र ‘द महावीर’को कास्टिङ कल: नयाँ अनुहारको खोजी

-


     हिडन खबर    
     वैशाख १ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘द महावीर’ को निर्माण टोलीले नयाँ कलाकारका लागि कास्टिङ कल खुला गरेको छ। नयाँ अनुहारहरूलाई प्राथमिकता दिँदै विभिन्न भूमिकाका लागि अडिसन आह्वान गरिएको हो।

फिल्मका लागि जनजाति अनुहार भएकी ३० देखि ४० वर्ष उमेर समूहकी महिला, हल्का कालो रंग र राम्री देखिने २० देखि २५ वर्ष उमेरकी नृत्यमा निपुण युवतीका लागि कलाकार खोजिएको छ।

त्यसैगरी, हल्का कालो छाला भएको मिक्स जनजाति अनुहार देखिने १० देखि १२ वर्ष उमेरको बालक, ६ फिट अग्लो आर्य अनुहार भएको ३५ देखि ४० वर्ष उमेरको एथलेटिक शरीर भएका पुरुषका लागि पनि अडिसन खुला गरिएको छ।

४० देखि ५० वर्ष उमेर समूहकी फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिलाको भूमिकाका लागि पनि कलाकार आवश्यक परेको निर्माण पक्षले जनाएको छ। साथै, २५ देखि ३० वर्ष उमेर समूहको फिट शरीर भएको जनजाति लुक्सको पुरुष पात्र खोजिएको छ।

६ फिट अग्ला, फिट एन्ड फाइन देखिने २५–३० वर्ष उमेरका एथलेटिक आर्य अनुहार भएका, ६० देखि ६५ वर्ष उमेरका बोल्ड एन्ड कमान्डिङ जनजाति पुरुष, र ५० देखि ६० वर्ष उमेर समूहका अग्ला, स्वस्थ जनजाति अनुहार भएका पुरुष कलाकारका लागि समेत कास्टिङ कल गरिएको छ।

त्यसैगरी, गोरो छाला, धूर्त र दृष्ट देखिने ५०–६० वर्ष उमेर समूहका आर्य पुरुष कलाकार र स्मार्ट लुक्स भएका ७ देखि १० वर्ष उमेरका बाल कलाकार पनि आवश्यक छन्।

निर्माण पक्षले अनुभव भएकासँगै नयाँ कलाकारलाई समेत अवसर दिने जनाएको छ। अभिनयमा निपुण कलाकारलाई प्राथमिकता दिइनेछ।

कास्टिङका लागि पहिलो चरणमा एक मिनेटको भिडियो पठाउनुपर्नेछ, जसको म्याद वैशाख १ गतेदेखि ३ गतेसम्म तोकिएको छ। दोस्रो चरणमा डिजिटल अडिसनबाट छनोट भएकालाई फोनमार्फत बोलाएर फिजिकल अडिसन लिइनेछ।

यसअघि चलचित्र ‘द महावीर’ को थिम पोस्टर सार्वजनिक भइसकेको छ। निर्देशक जिबी आग्री रहने फिल्मको कथावस्तु खुलाइएको छैन तर पोस्टरमा रातो र गाढा पृष्ठभूमिमा दुई बलिष्ट घोडाहरू दौडिएको दृश्य, आमनेसामने रहेका दुई व्यक्ति, र रातो कपडाले बेरिएको ठूलो तरवार देखिएकाले कथामा युद्धको पृष्ठभूमि रहेको अनुमान गर्न सकिन्छ।

फिल्मको स्लोगन ‘Rise, Fight, Conquer’ (उठ, लड, जित) रहेको छ, जसले दुई पक्षबीचको द्वन्द्वलाई संकेत गर्छ।

चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका हुन्। लक्षरा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्मातामा कृष्ण बिके, बीआर रेड्डी, र सन्तोष लुहार छन् भने सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके छन्। कार्यकारी निर्माता वरिष्ठ संगीतकार सुरेश अधिकारी रहेका छन् भने छायांकन निर्देशक सरण रिसी हुन्।

फिल्म हिन्दी र नेपाली भाषामा निर्माण हुनेछ र यसमा डल्बी एटमस साउन्ड प्रयोग गरिनेछ। रिलिज मिति भने हालसम्म घोषणा गरिएको छैन।