
बागलुङ । हामी सेवा गर्छाैं भन्ने उदेश्यका साथ गठन भएको
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजना र माट्रिका आई केयर सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा जैमिनी नगरपालिकाको कुश्मिसेरा र बागलुङ नगरपालिकाको वलेवामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जैमिनी नगरपालिकाको कुश्मिसेरामा पुष १७ गते र वलेवा नारायणस्थानमा पुष १८ र १९ गते संचालन भएको आँखा शिविरमा ६ सय जना बिरामीको उपचार भएकोमा मोतीया विन्दु भएका विरामी छनोटपछि ५३ जना मोतिया विन्दु भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
मोतिया विन्दुलगाएत अन्य जटिल प्रकारको आँखाका विरामीहरुलाई निःशुल्क शल्यक्रिया, चश्मा र औषधीहरु वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा माट्रिका आई केयर सेन्टर काठमाडौंका छ जना आँखाका चिकित्सकहरु र चार जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस र पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनहाकमै आँखाको ज्योती गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ निःशुल्क आँखा शिविर आयोजना गरिएको डिष्ट्रिक इन्टरनेसनल रिलेसन चिफ काजिमान गुरुङ बताउनुभयो ।
निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा डिष्ट्रिक को चिफ अनुप रिजाल, माट्रिका आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत कल्याण ढुंगाना, डा. योगिता राजभण्डारी, बागलुङ नगरपालिका-१४ का वडा अध्यक्ष चक्रबहादुर केसी र नेपाल रेडक्रस सोसाइटी वलेवा उपशाखाका सभापति कमल जिसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षता र सञ्चालन जोन चियर पर्सन नारायण प्रसाद आचार्यले गरेको थियो ।




















