
बागलुङ ।स्वास्थ्य कार्यालय बागलुङको आयोजना एवं बरेङ गाउँपालिकाको समन्वयमा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप र सरसफाई प्रबर्द्बन कार्यक्रमको समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक सम्बन्धी २ दिने गोष्ठि सम्पन्न भएको छ ।
गत आर्थिक वर्षमा गरीएका खोप कार्यक्रमसँग सम्बन्धित विभिन्न क्रियाकलापहरुको समीक्षा गर्दै आगामी दिनहरुमा खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्नको लागि सूक्ष्मयोजना तयारी तथा अध्यावधिक गर्ने, निर्णय गरेको छ ।
नियमित खोप सेवा कार्यक्रमलाई सुदृढिकरण गर्ने, सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउने, सरसफाई युक्त व्यवहारमा परिवर्तन ल्याउने र सबै बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिका अनुसारको सम्पूर्ण खोप दिलाई पूर्ण खोप सुनिश्चतता दिगोपना घोषणा गर्ने उदेश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत खड्क वि. क. को आतिथ्यतामा संचालित उक्त कार्यक्रमको संचालन बरेङ गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री, बरेङ गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन र बागलुङ नगरपालिकाका सि.अ.हे.व. ख्याम कुमारी रानाले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बरेङ गाउँपालिका खोप समन्वय समिति एवं सरोकारवालाहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु र खोप फोकल पर्सनहरुको सहभागीता रहेको थियो ।














