बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अबचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो ।
उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भनी पीडित सहकारी बचतकर्ताहरूले अदालतमा मुद्दा दर्ता गराएका छन् ।