दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट शुरू

-


     हिडन खबर    
     असाेज ६ गते २०८१ मा प्रकाशित


काठमाडौं । नेपालीहरूकाे महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिनुभएको छ ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।