
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हरितालिका तीजको दिन सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि भदौ १३ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम रहेको थियो ।
मुख्यतः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । यसबाहेक तीज, विवाह लगायतका समयमा माग बढी हुँदा स्थानीय बजारमा सुन चाँदीको भाउ बढ्ने गरेको देखिन्छ ।
आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम रहेको थियो ।












