
काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।
सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ ।
परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
‘देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ’, मन्त्री शर्माले जानकारी दिइएका छन् ।
सरकारले काठमाडौ भक्तपुर कास्की लगायतका २४ जिल्लामा श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।












