खानेपानीको महशुल दुई सय प्रतिशतले वृद्धि उपभोक्ता मर्कामा

-


     हिडन खबर    
     असार १५ गते २०८१ मा प्रकाशित


खानेपानीको न्युतम महशुल बढाएको समितिले सुविधा भने अघिल्लो समितिले भन्दा बढी लिने गरेको छ ।

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको छ भने बैठक भत्ता ५० प्रतिशत बृद्वि गरेको छ ।

बिहिबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो ।

यसअघि न्युनतम प्रतिआठ युनिट एक सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले आगामी भदौ १ गतेदेखि लागु हुनेगरी प्रतिदश युनिट पानीको महशुल ३ सय रुपैयाँ पुर्याएको छ ।

नगर विकास कोषसँग लिएको ऋणलाई पुनरतालिका गरेर मर्मत संहारका लागि ऋण लिनुपर्ने भएकाले स्रोत सुनिश्चित गर्न महशुल बढाउनुपरेको उपाध्यक्ष जिसीले बताए ।

नगर विकास कोषसँग ऋण लिने बेला नै महशुल वृद्धि गर्ने सहमति भए अनुसार ऋण तिर्ने स्रोत जुटाउन महशुल वृद्धिको निर्णय गरिएको जिसीले दाबी गरे ।

महशुल वृद्धिको निर्णयमा संस्थाका केही सदस्यहरुले भने असहमती व्यक्त गरेका छन् । सदस्य कुलराज शर्मा ‘हिमाल’ र हुमा खड्काले महशुल वृद्धिको निर्णयमा असहमति जनाएका हुन् ।

एकै पटक महशुल बढाउने निर्णयले उपभोक्ता मारमा पर्ने भएकाले आँफुहरुले असहमति जनाएका छन् ।

बैठकले नगर विकास कोषको तिर्न बाँकी रहेको २ करोड ८१ लाख किस्ता तथा व्याज भुक्तानी गर्ने र खानेपानी आयोजना मर्मतका लागि थप ऋण लिने प्रक्रियामा सहभागि हुने निर्णय समेत गरेको छ ।

खानेपानीको न्युतम महशुल बढाएको समितिले सुविधा भने अघिल्लो समितिले भन्दा बढी लिने गरेको छ । वर्तमान समिति निर्वाचित भएपछिको बैठकबाट निर्णय गरेर समितिले बैठक भत्ता बढाएको हो ।

यसअघि १ हजार बैठक भत्ता रहेकोमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले १ हजार ५ सय रुपैयाँ बैठक भत्ता लिने निर्णय गरेका छन् ।

संस्थामा पदाधिकारी तथा सदस्यहरुका कारण काम गर्ने वातावरण नरहेको भन्दै अध्यक्ष केवी राना मगरले राजीनामा दिएपछि बसेको पहिलो बैठकले महशुल बढाउने निर्णय गरेको हो ।