
बागलुङ /नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाद्धारा बागलुङ नगरपालिका ५ मालिकामा सोमबार एक बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा मालिका माध्यमिक बिद्यालय र श्रीकृष्ण आधारभूत बिधालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत १५० जना बिधार्थीहरुको रक्त समुह परिक्षण गरिएको थियो ।
शिविरमा १५२ जना जेष्ठ नागरिकहरुको मधुमेह परिक्षण तथा ३४१ जना व्यक्तिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्दा ६ जना जेष्ठ नागरिकहरुमा मोतिया बिन्दु देखिएको आयोजकले जनाएको छ ।
९ जना जेष्ठ नागरिकहरुलाई थप उपचारको लागि धौलागिरी आँखा अस्पताल बागलुङमा रिफर गरिएका छ भने २० जना जेष्ठ नागरिकहरुलाई चस्मा वितरण गरिएको थियो ।
बिरामी व्यक्तिहरुलाई औषधी उपलव्ध गराईएको थियो । मालिका समाज जापानको आर्थिक सहयोग धौलागिरी आँखा अस्पताल बागलुङ तथा मालिका स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा संचालित स्वस्थ्य शिविरमा आँखा जाँच धौलागिरी आँखा अस्पताल बागलुङका अप्थाल्मिक टेक्निसियन सबिना बराल , रक्त समुह परिक्षण धौलागिरी प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन हरि शर्मा र प्रेसर तथा सुगर जाँच मालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विलासचन्द्र पौडेल,बैकुण्ठ न्युरे तथा राधाकुमारी शर्माले गर्नु भएको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व माननिय इन्द्रलाल सापकोटाले ग्रामिण इलाकामा विकासका सबै पुर्वाधारहरु पुगेको तर बसाइसराई तथा बैदेशिक रोजगारीले गर्दा जेष्ठ नागरिक बाहेक गाँउमा कोही नरहने अवस्था सृजना भएको समयमा यस्ता कार्यक्रमहरु अति नै सान्दर्भिक रहेको बताउनु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले सधै सराहनीय काम गरेको बताउनु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति रेशमलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम स्वागत गणेश प्रसाद शर्माकाे स्वागत र सचिव मातृका आचार्यको संचालनमा सम्पन्न भएको थियो ।


















