बागलुङका तीन स्थानिय तहमा महिलाहरुका लागि निशुल्क शिविर हुने

-


     हिडन खबर    
     वैशाख २२ गते २०८१ मा प्रकाशित


बागलुङ । धौलागिरि अस्पताल बागलुङको आयोजनामा बागलुङका तीन स्थानिय तहमा पाठेघर तथा आङ खस्ने महिलाहरुका लागि निशुल्क स्क्रिनिङ शिविर हुने भएको छ ।
महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको सहयोग र स्थानिय तहका स्वास्थ्य कार्यालयहरुको समन्वयमा बागलुङ बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र काँठेखोला गाउँपालिकामा शिविर संचालन गरिने धाैलागिरि अस्पतालले जनाएको छ ।

धौलागिरि अस्पताल बागलुङले पत्रकार सम्मेलन गरि बरेङ गाउँपालिकामा बैशाख २९ गते जैमिनी नगरपालिका जेठ ५ गते र काँठेखोला गाउँपालिकामा जेठ १२ गते शिविर संचालन गर्ने तय भएको जानकारी दिएको छ ।

शिविरको वारेमा जानकारी दिदै अस्पतालका प्रमुख कन्सलटेन्ट गाइनोलोजिष्ट डाक्टर रेखा पौडेलले जिल्ला तीन स्थानिय तहमा पाठेघर सम्वन्धी स्क्रिनिङ शिविर संचालन गरिने र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी भेटिएमा धौलागिरि अस्पतालमा निशुल्क शल्यक्रिया गरिने बताउनुभयो ।

सो अवसरमा ३० बर्ष उमेर नाघेका महिलाहरुको भिआइए टेष्ट, स्तन क्यान्सर र हात्तीपाइले रोगसंग सम्वन्धीत सेवा पनि उपलव्ध गराइने उहाँको भनाई थियो । उहाँले आफुलाई शंका लागेका बिरामीले रोग नलुकाई खुलेर उपचार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलको अध्यक्षता, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानको स्वागत र मेडिकल रेकर्डर नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।