मेडिकल सुपरिटेन्डेन्ट र ब्यवस्थापन समिति सदस्य श्रेष्ठ बिचकाे विवाद मिलाउन समिति सक्रिय

-


     हिडन खबर    
     वैशाख १६ गते २०८१ मा प्रकाशित


बागलुङ / धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य र मेडिकल सुपरिटेन्डेण्ड बीच भएको विवाद र मुद्दामामिला सम्मको क्रियाकलाप प्रति अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा बसेको वैठकले अस्पताल समिति परिवार भित्र भएको सामान्य भनाभनलाई अस्पताल भित्र नै समाधान गर्न सकिने वातावरण सिर्जना गर्न अस्पताल व्यवस्थापन समितिले दुवै पक्षलाई आग्रह गरेको छ ।

समिति अस्पतालमा उपस्थित भई सदस्य सचिव समेत रहेका सुपरिटेन्डेण्ड डा. रविरंजन प्रधान लाई छलफलमा बोलाउँदा वेवास्ता गरेको र अध्यक्षले पटक पटक सम्र्पक गर्दा पनि सम्र्पकमा समेत नआई मुद्दामामिला सम्म पुगी डा. प्रधानले कानुनी उपचारका लागि गरेको उजुरी अस्पताल, अस्पताल परिवार र समुदाय समेतलाई अनावश्यक विवादमा ल्याउने क्रियाकलाप गलत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताउनु भयो । साथै मुद्दा मामिलासम्म पुग्ने परिस्थिती नरहँदै समितिमा कुनै जानकारी नगराई समितिको वेवास्ता गरिएका प्रति दुःख व्यक्त गर्ने निर्णय गरेको छ ।

धौलागिरि अस्पताल बागलुङको मिति २०८१ बैशाख १३ गतेका दिन अस्पतालबाट चाुल आर्थिक वर्षमा सञ्चालन गर्नु पर्ने महिलाको पाठेघर सम्बन्धी उपचार शिविर सञ्चालन गर्न आवश्यक तयारीका लागि समितिका अध्यक्ष, सदस्य सचिव र सदस्यहरु सहितको भएको छलफलको क्रममा उठेका विषयमा सबाल जवाफ भएको सन्दर्भलाई लिएर सदस्य सचिव डा. प्रधान र सदस्य श्रेष्ठका बीच भएको अस्पतालका कार्यक्रमकै विषयमा भएको छलफललाई अतिरञ्जीत गरी बैठक, विज्ञप्ती र मुद्दामामिला सम्मको क्रियाकलाप प्रति अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य श्री कृष्णशंकर श्रेष्ठलाई तत्काल रिहा गरी निज श्रेष्ठ विरुद्ध दर्ता भएको मुद्दा तत्कालै खारेज होस भनी सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले धौलागिरी अस्पतालसँग जोडिएर रहेका विषयहरुलाई कोही कसैले अतिरञ्जीत नगरी दिन आम समुदायमा अनुरोध गर्दै अस्पताल प्रशासनले दिईरहेका सेवाहरु विगतका दिनहरुमा जस्तै नियमित रुपमा सञ्चालन हुने जानकारी गराउँदै अस्पतालमा विभिन्न तहमा खट्नु हुने चिकित्सक एवं सम्पूर्ण कर्मचारीहरुलाई अविचलित भई नियमित रुपमा सेवा प्रवाह गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।