
बागलुङ /नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा चैत्राष्ठमीकाे आठौं दिन अर्थात् अष्ठमीका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ ।
नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूकाे चैते दशैकाे अवसरमा अष्ठमीका दिन बिहानदेखि नै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे आठौं दिन बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आएको हजारौं भक्तजनलाई सहजरूपमा पुजा गर्ने ब्यवस्था मिलाएको कालीका गुठी ब्यवस्थापन समितिले जनाएको छ ।
कालीका भगवती मन्दिरमा आएर पुजा गरे मन्दिरको दर्शन गरे आफ्नो मनले चिताएकाे कुरा पुरा हुन जनविश्वास भएको कारणले पनि आफुहरू मन्दिर आउने गरेको श्रद्वालु भक्तजनकाे भनाइ छ ।
चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानिय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रबर्द्धन र किनवेच हुने पर्वको रुपमा समेत लिईन्छ ।
चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा बागलुङ कालिका भगवती मन्दिरमा बिशेष पूजा अर्चना हुन्छ । यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी नेपाल कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
तत्कालीन पर्वतका राजना प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजना मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ ।
मन्दिरमा वर्षको दुई पटक वडा दशै र चैत दशैंमा विशेष पूजा हुने गर्छ। कालीका भगवती संग गरेको भाकल पूरा भएकाे भन्दै बिशेश गरि चैत्राष्टमीमा काठमाडौ पाेखरा नारायणगढ ,स्याङ्जा ,गुल्मी ,पर्वत ,म्याग्दी तनहुँ ,गाेर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् ।
कालीका गुठी ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा मेला आयोजना गर्दै आएको छ ।चैते दशैकाे अबधिमा लाखौं भक्तजन मन्दिर आउने गरेका छन् ।


















