मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

-


     हिडन खबर    
     मंसिर ३ गते २०८३ मा प्रकाशित


तत्कालीन दुई श्रममन्त्री, सचिव र सहसचिवसमेत अनुसन्धानको दायरामा

काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियासँग सम्बन्धित ठगी तथा संगठित अपराधको आरोपमा तत्कालीन दुई जना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।

त्यसैगरी तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र रविन पौडेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन्।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट प्राप्त पत्र तथा विकास साझेदारको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (MoU) विपरीत गैरकानुनी रूपमा ठगी गरी रकम संकलन गरिएको तथा अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरिएको आरोप उनीहरूमाथि छ।

संगठित समूहको लाभका लागि आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत काम गरेको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर २०८३ मंसिर २ गते काठमाडौं, ललितपुर तथा आसपासका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
स्रोत : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको प्रेस विज्ञप्ति।

हिड्न खबर अनलाइनका लागि मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेको विषयलाई आधार मानेर समाचारमूलक स्केच तस्बिर