लेउवा संघको स्थापना दिवसमा खेलकुद प्रतियोगिता सम्पन्न

-


     हिड्न खबरदाता     
     असार १९ गते २०८३ मा प्रकाशित


लेखनाथ, १९ असार

लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसरमा सदस्यबीच ब्याडमिन्टन र दौड प्रतियोगिता सम्पन्न गरेको छ।

ब्याडमिन्टन प्रतियोगितामा शुभम पार्टी प्यालेसका हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सन्तोष गुरुङ विजेता बने।

गण्डकी मल्टी एग्रो फार्मका हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका लक्ष्मण बाँस्तोला उपविजेता भए। दुई समूहले सान्त्वना स्थान पाए।

विजेताले क्रमशः रु ३० हजार, १७ हजार र ८÷८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिला दौडमा छाया बसौला प्रथम, इन्दु जोशी द्वितीय, बिनिता गोदार तृतीय र लक्ष्मी बाँस्तोला सान्त्वना स्थानमा रहे।

पुरुष दौडमा राहुल थापा प्रथम, नारायण काफ्ले द्वितीय, खड्क कुमाल तृतीय र रमेश श्रेष्ठ सान्त्वना स्थानमा रहे।

महिला–पुरुष दुवै तर्फ विजेताले क्रमशः रु १० हजार, ८ हजार, ६ हजार र ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडीलाई असार २० गते हुने विशेष समारोहमा सम्मान गरिनेछ। समारोहको उद्घाटन गण्डकी प्रदेशका उद्योग मन्त्री यशोदा रिमालले गर्ने कार्यक्रम रहेको छ।

संघ अध्यक्ष जानुका पराजुली अधिकारीले प्रतियोगिताले व्यवसायीबीचको सम्बन्ध र भाईचारालाई प्रगाढ बनाउने तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।