
बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवार्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ । शुक्रबार बागलुङ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई तथा स्वागत गरेको हो । कार्यक्रमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगरपालिकाका १४ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरिएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका थिए । त्यस्तै निवर्तमान नगर प्रमुख जनक राज पौडेल लगायतका वडा अध्यक्ष नगर कार्यपालिका सदस्यहरुलाई विदाई गरिएको थियो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख जनकराज पौडेलले आफ्नो कार्यकालमा बागलुङ नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम झुला लगायतका ठूला पूर्वाधार निर्माण भएको बताए । पौडेलले समुन्नत बागलुङ नगर बनाउन आगामी दिनमा जनप्रतिनिधिलाई सकरात्मक ढंगले सहयोग गर्ने बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर बसन्तकुमार श्रेष्ठले नगरमा सुसासन कायम गरि स्वच्छ नगरपालिका स्थापित गरी समुन्नत र समृद्धि नगरपालिका बनाउने बताए । श्रेष्ठले सुशासन र विकासको हिसाबले बागलुङ नगरलाई नमूना बनाउने बताए । सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूसँग रहेको उनको भनाइ छ । नगरका जनप्रतिनिधिले जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने बताएका छन् । स्वागत कार्यक्रमको संचालन नगरपालिकाका शस बहादुर पुनले गरेका थिए ।












