सिवाइसी साकोस बागलुङको योजना तर्जुमा तथा वित्तीय विश्लेषण तालिम सम्पन्न

-


     सुवास आचार्य     
     जेठ २७ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ २७

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा योजना तर्जुमा तथा वित्तीय विश्लेषणसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण, लक्ष्य निर्धारण तथा संस्थाको वित्तीय अवस्थाको समीक्षा गर्ने उद्देश्यले आयोजित तालिममा सञ्चालक, सल्लाहकार, विभिन्न सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमितिका पदाधिकारी, विभागीय प्रमुख तथा संस्थाका २५ सेवा केन्द्रअन्तर्गतका सात इलाका कार्यालयका प्रतिनिधि कर्मचारीहरूको सहभागिता रहेको थियो।

सेवा केन्द्र प्रमुखहरूको सहभागितामा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा संस्थाको शुद्धीकरण तथा सुदृढीकरण, सदस्य व्यवस्थापन, वित्तीय संरचनाको स्तरीकरण, ऋण लगानी व्यवस्थापन, भाखा नाघेको ऋण असुली तथा न्यूनीकरण, सञ्चित नोक्सानी घटाउने, वित्तीय सक्षमता कायम गर्ने, सदस्यसँग दिगो सम्बन्ध विस्तार गर्ने तथा नियामकीय मापदण्डअनुसार संस्था सञ्चालन गर्ने विषयमा केन्द्रित वार्षिक योजना तथा बजेट निर्माणबारे छलफल गरिएको थियो।

तालिममा संस्थाको वर्तमान वित्तीय अवस्था, व्यावसायिक प्रगति तथा सदस्य सेवासम्बन्धी गतिविधिहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, शेयर सदस्यता वृद्धि, बचत संकलन, ऋण लगानी विस्तार, डिजिटल सेवाको प्रवर्द्धन तथा प्रयोग वृद्धि लगायतका विषयमा छलफल गर्दै लक्ष्य निर्धारण गरिएको छ।

संस्थाले सञ्चालन गरिरहेको मोबाइल बैंकिङ, एटीएम सेवा, क्यूआर भुक्तानी प्रणाली लगायतका डिजिटल सेवाको पहुँच र प्रयोगकर्ता संख्या बढाउने रणनीतिबारे सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए।त्यसैगरी, निष्क्रिय सदस्यलाई सक्रिय बनाउने, नयाँ सदस्य विस्तार गर्ने, वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने तथा सदस्यकेन्द्रित सेवाहरूलाई थप सुदृढ गर्ने विषयमा समेत कार्ययोजना तयार गरिएको छ।

कार्यक्रममा आगामी आर्थिक वर्षका लागि प्रत्येक इलाका कार्यालय तथा सेवा केन्द्रको लक्ष्य निर्धारण गरिएको छ। संस्थाको दिगो विकास, व्यवसाय विस्तार, प्रविधिमैत्री सेवा प्रवाह तथा सदस्य सन्तुष्टि अभिवृद्धिलाई केन्द्रमा राखेर कार्यान्वयनयोग्य योजना तयार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताउनुभयो।

उहाँले सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन संस्थाहरूले स्पष्ट योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि लक्ष्य निर्धारण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

दुई दिनसम्म तालिमको सहजीकरण गर्नुभएका सहकारी विज्ञ केशव पोखरेलले सहकारी संस्था कारोबारको आकारले मात्र होइन, योजना, कार्यक्रम र सुशासनका आधारमा पनि प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रत्येक वर्षका लागि स्पष्ट लक्ष्य, कार्ययोजना तथा बजेट निर्धारण गरी संस्थालाई व्यवस्थित र दिगो रूपमा अगाडि बढाउन सकिने बताउनुभयो।