
बागलुङ नगरपालिका वडा नम्वर ७ मा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्का लगाएको टोलीले बागलुङ नगरपालिका वडा नम्वर ७ का विभिन्न टोलका मतदाताको घरघरमा पुगेर भोट मागेका छन् ।
श्रेष्ठ र खड्का सँगै स्थानिय वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले पनि जनताको घरदैलो पुगेर भोट माग्दै हिँडेका छन । स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको संयुक्त उम्मेदवारमा श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार हुन भने खड्का नेकपा माओबादी केन्द्रबाट नगरउपप्रमुखको उम्मेदवार हुन । दुवै जनाले वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार सहित घरदैलो सँगै खेती किसानी गर्ने कृषकहरुलाई खेतबारीमा नै पुगेर भेटेका छन ।
भेटमा अधिकाशं किसानहरुले आफ्नो समस्या राखेका थिए । उनिहरुले बागलुङ नगरपालिकाले कृषि क्षेत्र र किसानको मर्मअनुसारका कार्यक्रम ल्याउन नसकेका कारण अबको नेतृत्वले कृषि क्षेत्रको परिवर्तनका निम्ती हरेक किसान आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।
घरदैलो कार्यक्रममा नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले हरेक जनताको सहभागितामा समुन्नत बागलुङ नगरपालिकाको सम्भव रहेका कारण सवैको साथ र सहयोगको खाँचो रहेको बताए । उनले कोख देखी शोक सम्मको यात्रामा सँगै रहने गरी अबको नेतृत्व गठबन्धनका दलका उम्मेदवारलाई दिनुपर्ने बताए ।
घरदैलो गर्दै नगरउप्रमुखका उम्मेदवार राजु खड्काले कृषिलाई आत्मनिर्भर गराउने आफुहरुको पहिलो अठोट रहेको बताएका छन् । यस क्षेत्रमा उत्पादन हुने बस्तुलाई बाह्र निर्यात गरेर आय आर्जन सँग जोड्नका निम्ती नगरपालिकाको तर्फबाट पहल थालिने उनको भनाई थियो ।
घरदैलो तथा भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति हरि प्रसाद श्रेष्ठ, महाधिवेशन पैतिनिधि जगदिशचन्द्र उपाध्याय, प्रदेश सांसद कोपिला बोहोरा लगाएतका नेता कार्यकताहरुको उपस्थिति रहेको थियो ।
बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धन सँग नेकपा एमाले र राप्रपाको गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने छ । नगरप्रमुखका लागि नेपाली काँग्रेसको तर्फबाट श्रेष्ठ र नेकपा एमालेको तर्फबाट जनकराज पौडेल उम्मेदवार रहेका छन् ।
अघिल्लो निर्वाचनमा पनि श्रेष्ठ र पौडेलको प्रतिस्पर्धा भएको थियो । पौडेलले एक कार्यकाल विताई सकेको हुँदा यसपाली जनताले कसरी मुल्याङ्कन गर्नेछन त्यो त निर्वाचन परिणाम आउनै बाँकी छ । दुवै पक्षले आफ्नो पक्षमा नतिजा आउने दाबी गरेका छन ।









