सत्ता र शक्तिका लागि मरिमेट्न प्रवृति गलत : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

-


     हिडन खबर    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विभिन्न दलबाट निर्वाचित व्यक्तिहरु सत्ता र शक्तिका लागि मरिमेट्न प्रवृति गलत भएको बताउनु भएको छ । बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्दै सत्ताभन्दा माथी जनताको हितमा काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउनु भयो । तिमिल्सिनाले आगमी स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने बातावरण सृजना गर्न राजनैतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनुभयो । आगमी निर्वाचनबाट सक्षम जनप्रतिनिधि छनोट गर्ने बेला आएको भन्दै जनताको हितमा लाग्ने नेतृत्व चुन्नुपर्ने बताउनु भयो । लोकतन्त्रमा जनताले खुसीका साथ आफुले इच्छाएको पार्टी र आफुले इच्छाएको उम्मेदवारलाई मतहाल्न पाउनुपर्ने अधिकार रहेको बताउनु भयो ।
उहाले चैतेदशै बागलुङको पहिचान सँग जोडिएको भन्दै धार्मिक पर्यटकहरु आउने महत्वपुण गन्तव्य बनेको बताउनु भयो ।
तिमिल्सिनाले धार्मिक पर्यटकको संभावना नेपालमा बढेर गएको बताउदै बागलुङ कालिका, झोलुङ्गे पुल, पञ्चकोट मुक्तिनाथ लगायतका क्षेत्रमा पर्यटकहरुको चाप अत्याधिक रहेको बताउनु भयो । धार्मिक पर्यटकका कारण बागलुङमा आर्थिक गतिविधि बढेर गएको बताउनु भयो । कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले बोलेका थिए । मेला आयोजक समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता र निशान खड्काको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
चैत्र २४ गते देखी संचालन भएको चैत्राष्टमी मेला २८ गते सम्म संचालन हुने मेला आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । मेलामा दोहोरी गित प्रतियोगिता खुल्ला भलिवल प्रतियोगिता, छेलो लागयतका कार्यक्रम रहेको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।