चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

-


     हिडन खबर    
     चैत्र ११ गते २०७८ मा प्रकाशित


तीन दिने नेपाल भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्नु भएको छ । दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्किएका विदेशमन्त्री वाङ पाकिस्तान, अफगानिस्तान, भारत हुँदै आज दिउँसो काठमाडौं आइपुग्नुभएको हो । २५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै काठमाडौं उत्रिएका वाङ बत्तिसपुतलीस्थित द्वारिका होटेलमा बस्नुभएको छ ।

वाङले औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै गर्नुहुनेछ । स्रोतका अनुसार आज साँझ उहाँले चिनियाँ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ ।

भ्रमणको दोस्रो दिन भोली उहाँले काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने शिवपुरी जंगल क्षेत्रमा हाइकिङ जाने र त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम छ ।

सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि बालुवाटार पुगेर वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

वाङले काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यस्तै, वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पर्सि आइतबार शितलनिवासमा पुगेर भेट्नु हुनेछ । राष्ट्रपति भण्डारीसँगको भेटपछि उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर चीन फर्किनुहुनेछ ।

वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ । वाङको भ्रमणका क्रममा फ्रि तिब्बतको पक्षमा प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानी बढाएका छन् ।