सप्ताह व्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरू

-


     हिडन खबर    
     फागुन १३ गते २०८० मा प्रकाशित


बागलुङ / देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।

सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य छ । २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने भएको छ ।

तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।

तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिएकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

यस्तै गण्डकी प्रदेशको बागलुङ जिल्लामा दुई चरणमा गरेर २० हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ। जन्मेको ९ महिनादेखि पाँच वर्षमुनिका करिब २० हजार ४ सय २४ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

प्रमुख आचार्यले बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा दुई चरणमा खोप लगाइने । बागलुङमा फागुन १३ गतेदेखि १६ गतेसम्म पहिलो चरण र फागुन २५ गतेदेखि चैत ४ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुन भएको छ ।

पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।

भने दोस्रो चरणअन्र्तगत फागुन २१ गतेदेखि चैत ४ गतेसम्म ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बागलुङका खोप निरीक्षक राजु केसीले बताउनुभयाे ।

खोप सपुरभाइजर केसीका अनुसार २ सय ७२ खोप केन्द्रमा २ सय ४४ जना स्वास्थ्यकर्मी, ४ सय ८८ स्वयंसेवक र ९५ जना व्यवस्थापन तथा अनुगमनकर्ता परिचालन गरिने भएको छ ।

जन्मेको ९ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लगाउने एक डोजको खोप लगाएको भए पनि नलगाएको भए पनि अभियानमा जोडिन सकिने जनाइएको छ।

दादुरा रुबेला रोग एक जनाबाट एक पटकमा १८ जनासम्ममा सर्ने भएकोले खोप लगाउन लागिएको खोप निरीक्षक केसीले बताउनुभयाे ।

पछिल्लो समय तराईका जिल्लासहित बागलुङमा समेत संक्रमण देखिएपछि यो निवारण गर्न खोप अभियान चलाइएको खोप निरीक्षक केसीको भनाइ छ। बागलुङमा पछिल्लो समय एक जनामा दादुरा रुबेला रोग देखा परेको थियोे ।

खोप अभियानको लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नु रहेको स्वास्थ कार्यालय बागलुङ भनाइ छ ।

नेपालमा अहिलेसम्म ८८ प्रतिशत बालबालिकाले मात्रै दादुरा खोप लगाएको तथ्यांक छ। त्यसबाहेक कतिपय स्थानमा खोपै नलगाएका बालबालिका भेटिने, कतिपयले पहिलो चरणको लगाएर पछिल्लो छुटेका भेटिएकाले संक्रमण बेला बेलामा देखिने गरेको निष्कर्षपछि यो अभियान चलाउन लागिएको हाे ।

बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच दादुरा रूवेला खाेप अभियान शुरूवात गरिएको छ ।धाैलागिरि अस्पताल बागलुङ र सदरमुकाममा आजदेखि शुरूवात भएको छ ।

२०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ । नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकिएको छ ।