बागलुङमा हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम सुरु

-


     हिडन खबर    
     असार ५ गते २०७९ मा प्रकाशित


बागलुङमा आइतबारबाट १५ दिने हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम सुरु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बागलुङमा हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम संचालन गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नम्वर २ को सहयोगमा १५ दिने तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनु भयो । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रुपमा समेत बलियो बन्ने खड्काले विश्वास व्यक्त गर्नु भयो ।

नयाँ सिप र ज्ञानले महिलाहरुलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने भन्दै पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकला सामाग्रीहरुको तालिमहरुले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले महिलाहरुले सिप ज्ञानका साथै नेतृत्व विकासमा पनि जोड दिनुपर्ने बताए । उनले महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीको बजार व्यवस्थापनका निम्ति बागलुङ उद्योग वाणिज्य संघले सहजिकरण गर्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा सदस्य विदेश कुमार श्रेष्ठ, सिर्जनशिल नारी समाजका अध्यक्ष शान्ती ज्ञावली, महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला देवी खड्का लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए । ५८ जना महिलाहरु सहभागी तालिममा लक्ष्मी शाक्यले  प्रशिक्षण दिने छन् । समितिले यस अगाडि पनि महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम संचालन गर्दै आएको छ । बागलुङ उद्योग वाणिज्यसँग  निरन्तर सहकार्य गर्दै आएको समितिले महिलाहरुको क्षमता विकासका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रम महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता र स्वागत, सचिव जुनु श्रेष्ठको संचालन र सहसचिव सिता राजभण्डारीको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।