बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् ।
आम नेपालीबीच गुणस्तरीय शिक्षाको चाहना र तत् सम्बन्धी बहस तीब्र बन्दै गएको छ । यद्यपि ‘ गुणस्तर ’को परिभाषा र बुझइ आ–आफ्नै परिवेश अनुरुप भिन्न छन् । विद्यार्थीले अङ्ग्रेजी बोल्न वा लेख्न सक्नुलाई नै गुणस्तरीय शिक्षा मान्ने अभिभावकको जमात अझै पनि ठूलो छ । उता, नेपाल सरकारको ध्यान, लगानी र प्रयास भने शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमै केन्द्रित रहँदै आएको छ; जुन एक हिसाबले स्वाभाविक पनि देखिन्छ । त्यो किनभने, प्राथमिक विद्यालय उमेर समूहका ११ प्रतिशत बालबालिका अझ्सम्म पनि विद्यालय बाहिर रहेका छन् र कक्षा १ मा भर्ना भएकामध्ये आधाभन्दा बढी बालबालिका कक्षा २ मा पुग्ने गरेका छैनन् । शिक्षा मन्त्रालयको सन् २००६ को फ्ल्यास रिपोर्ट अनुसार प्राथमिक विद्यालयमा भर्ना हुने करिब ४५ लाख विद्यार्थीमध्ये १७ लाख विद्यार्थी बढी उमेरका छन् । यसले गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीको कुल भर्ना दर र खुद भर्ना दरमा समेत ठूलो भिन्नता रहेको छ । कक्षा दोहोर्याउने र बीचमै कक्षा छोड्ने बालबालिकामा लक्षित गर्दै बालमैत्री वातावरण र गुणस्तरीय शिक्षालाई एकसाथ अगाडि नबढाई नेपालले सन् २०१५ सम्ममा ‘सबैको लागि शिक्षाको लक्ष्य प्राप्त गर्न सक्ने देखिँदैन । विद्यालयको समग्र वातावरण बालमैत्री भएमा मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ ।
बालमैत्री–विद्यालय सम्बन्धी पछिल्लो अवधारणाको जग विश्व स्वास्थ्य सङ्गठनले १९९७ मा तयार पारेको मान सिक स्वास्थ्य सम्बन्धी प्रतिवेदन हो । त्यो प्रतिवेदनले विद्यालय शिक्षाका लक्ष्यहरू प्राप्त गर्न बालबालिकाको मनो–सामाजिक विकास मा जोड दिइनुपर्ने र त्यसनिम्ति बालमैत्री विद्यालय प्रवद्र्धन गर्नु जरुरी भएको भन्दै त्यसको खाका प्रस्तुत गरयो । उक्त खाकालाई मूर्तरुप दिन युनिसेफ र सेभ द चिल्ड्रेनले सन् १९९८ मा थाइल्याण्डमा त्यहाँको राष्ट्रिय प्राथमिक शिक्षा आयोगसँग मिलेर बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयन प्रारम्भ गरे । क्रमशः कम्बोडिया, लाओस, नेपाल तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सो अभ्यास लागू गरियो ।
नेपालमा सन् २००२ देखि सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूको अगुवाईमा बालमैत्री विद्यालय र ‘विद्यालय शान्ति क्षेत्र’को अवधारणा व्यवहारमा उतार्न थालियो । सेभ द चिल्ड्रेन, शिक्षा विभाग, नेपाल शिक्षक युनियन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपाली परिवेश अनुकूलको ‘बालमैत्री विद्यालय प्रशिक्षक प्रशिक्षण निर्देशिका’ तयार पारी शिक्षक युनियनको अगुवाईमा हरेक जिल्लामा कम्तीमा तीन जना ‘बालमैत्री विद्यालय प्रशिक्षक’ उपलब्ध गराउने कार्य समेत सम्पन्न भइसकेको छ । हाल सेभ द चिल्ड्रेन मात्रैको सक्रियतामा देशका २५०० भन्दा बढी विद्यालयहरूमा यो अवधारणाको अभ्यास भइरहेको छ ।
के हो बालमैत्री विद्यालयको अवधारणा ?
बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् । त्यस्ता विद्यालय शिक्षक, अभिभावक र विद्यार्थीको साझ केन्द्रको रूपमा स्थापित भएका हुन्छन् । विद्यालयको सिकाइलाई समाज सँग जोडिएको हुन्छ । सुगारटाइभन्दा बालबालिकाको व्यावहारिक परिवर्तन र सामाजिक सीपलाई सिकाइको उपलब्धि मानिन्छ ।
बालमैत्री विद्यालयका विद्यार्थी सहयोगी र व्यावहारिक हुन्छन्, सिकाइका हरेक क्रियाकलाप मा सहभागी हुन्छन्, आपसी छलफल , सहयोग र अन्तरक्रियाबाट समस्या समाधान गर्न सक्छन्, शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास मा उत्तिकै उत्सुक हुन्छन्, परम्परालाई स्वतः ग्रहण गर्ने भन्दा पनि त्यसबारेमा प्रश्न सोध्ने र चित्त बुझे मात्र अपनाउने प्रवृत्तिका कारण उनीहरू सामाजिक रुपान्तरणका वाहक बनिरहेका हुन्छन्, उनीहरूको आत्मसम्मान र आत्मबल उच्च रहन्छ र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा लागू गर्छन् ।
बालमैत्री विद्यालयका शिक्षक विद्यार्थीलाई हेरचाह, माया र आदर गर्छन्, सिकाउन उत्सुक र प्रतिबद्ध हुन्छन्, विद्यार्थीको क्षमता र चाहना अनुसार सिकाउने गर्छन्, विद्यार्थीहरूको विकास क्रमबारे जानकारी लिई सोही अनुसार व्यवहार गर्छन्, विद्यार्थीलाई हरेक क्रियाकलाप मा सहभागी हुन हौसला प्रदान गर्छन् र उनीहरूको विचार को कदर गर्छन्, आफू पूरा तयारीका साथ कक्षाकोठाभित्र पस्छन्, आफ्नो पेशाप्रतिगर्व गर्छन्, आत्मविश्वासी हुन्छन् र कक्षाकोठालाई कर्म थलोको रूपमा लिन्छन्, विद्यार्थीको आत्मबल बढ्ने खालका शिक्षण विधि प्रयोग गर्छन्, विद्यार्थीको अगाडि नमुना भएर प्रस्तुत हुन्छन्, कक्षामा ढिलो र चाँडो सिक्ने विद्यार्थीलाई ध्यानमा राखी शिक्षण क्रियाकलाप हरू सञ्चालन गर्छन्, सबै विद्यार्थीहरूलाई विना भेदभाव समान व्यवहार गर्छन् र समान अवसर प्रदान गर्छन्, विद्यार्थीहरूको सिकाइको लागि आफ्नो जिम्मेवारी हुन्छ भन्ने कुरा मा विश्वास गर्छन्, विद्यार्थीको बानीव्यवहार र प्रगतिबारे छलफल गर्न अभिभावकसँग समय मिलाउँछन् र विद्यार्थीलाई भौतिक/शारीरिक तथा मान सिक सजाय दिँदैनन् ।
बालमैत्री विद्यालयका अभिभावक शिक्षक र विद्यार्थीसँग का अन्तरक्रियात्मक बैठकहरूमा सक्रिय र उत्सुक भएर भाग लिन्छन्, विद्यालयको नीति, कार्यक्रम तथा कार्यान्वयनको स्थितिबारे जानकारी राख्छन्, आफ्नो सामथ्र्य अनुसार विद्यालयको विकास मा सहभागी हुन्छन् र सहयोग गर्छन्, आफ्ना छोराछोरीको कमजोरी तथा प्रगतिबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने– दिने गर्छन्, विद्यालयलाई समुदायको सिकाइ–केन्द्रको रूपमा स्थापित गर्छन्, बालबालिकाप्रति सकारात्मक सोच राख्छन्, तदनुरुपको व्यवहार गर्छन् र विद्यार्थीको सिकाइमा आफ्नो जिम्मेवारी पूरा गर्छन् ।
बालमैत्री विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा हरेक बालबालिकालाई मैत्रीपूर्ण र सहयोगी वातावरणको उपलब्धता सुनिश्चित गर्छ; सहयोगात्मक र सक्रिय सिकाइमा सहयोग पुर्याउँछ, विद्यार्थीहरूलाई शारीरिक तथा मान सिक सजाय तथा दबाब दिने खालका क्रियाकलाप आफू गर्दैन र अरूबाट पनि त्यस्तो हुन नपाउने व्यवस्था गर्छ । प्रत्येक विद्यार्थीको फरक क्षमता र सिर्जनात्मकतालाई कदर गर्छ, नियमित रूपमा अभिभावकसँग सम्पर्क राखी विद्यार्थीका बारे जानकारी दिनुका साथै विद्यालयको क्रियाकलाप मा बालबालिका र अभिभावकलाई संलग्नगराउँछ र बालबालिकाको सिकाइ–उपलब्धिमा आफ्नो प्रगति मापन गर्छ ।
एशियाली तथा अफ्रिकी देशहरूमा बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्दा विद्यालयहरूमा निम्न कुरा हरू न्यूनतम रूपमा हुनुपर्ने मापदण्ड कायम गरिएको छः
भौतिक पूर्वाधारः घामपानी तथा बाहिरी कुरा बाट सुरक्षा दिनसक्ने कक्षाकोठा, फर्निचर, शौचालय, खाननेपानी, खेलमैदान, पुस्तकालय, कार्यालय कोठा, सूचनापाटी र फूलबारी,
विद्यालयको वातावरणः भौतिक पक्षबाट सुरक्षित तथा संवेगात्मक पक्षबाट संरक्षित वातावरण, सफा चर्पीको प्रयोग गर्ने सुविधा, सफा खाननेपानीको व्यवस्था र उपयोगको अवसर, विद्यालय हाता तथा कक्षाकोठामा नियमित सफाइको व्यवस्था, विद्यालयमा भएका भौतिक सामान तथा सुविधाहरूको प्रयोगमा सबैको पहुँच तथा समान अवसर र सबै पक्षबाट विद्यालयका नियमको पालना सुनिश्चित भएको ,
शिक्षण र सिकाइ सम्बन्धी क्रियाकलाप: विद्यालयको सुधार योजना तर्जुमा, विद्यालयको मूल्याङ्कन, निर्णय प्रक्रिया, समुदायसँग सम्बन्धित सामाजिक कार्य, अतिरिक्त क्रियाकलाप हरूको सञ्चालन, नीतिनिर्माण र विद्यालयको भौतिक विकास मा समेत बालबालिकाको अनिवार्य सहभागिता,
विद्यालयको मनो–सामाजिक वातावरणः शिक्षक र विद्यार्थी बीच रराम्रो आपसी परिचय; सबै विद्यार्थीलाई आफ्नो चाहना र क्षमता अनुसार क्रियाकलाप हरूमा संलग्न हुने अवसर, विद्यार्थीहरूको गुनासो सुन्ने सहज व्यवस्था, शिक्षक–विद्यार्थी, विद्यार्थी–विद्यार्थी तथा शिक्षक– समुदाय/अभिभावक बीच हार्दिक पारस्परिक सम्बन्ध, विद्यालयका नियमको परिपालनामा पारदर्शिता, एकले अर्कोलाई होच्याउने, झ्ज्यिाउने जस्ता व्यवहार एवं डर, त्रास र भयबाट मुक्त वातावरण, शिक्षक तथा विद्यालय परिवारबाट समेत विद्यार्थीहरूप्रति आदरको व्यवहार, सूचना प्रवाहको उपयुक्त पद्धति; स्वयम् जागृत हुने वातावरण र सिर्जना एवं विचार आदानप्रदानको अवसर, शिक्षकः पेशागत रूपमा प्रतिबद्ध र लगनशील; आफ्नो विषयमा दक्ष, सकारात्मक सोचयुक्त, स्वास्थ्य तथा अन्य सुविधाः विद्यालयमा प्राथमिक उपचार बाकस र उपचार सामग्रीहरू अद्यावधिक राख्ने निश्चित प्रक्रिया, नियमित खोप सेवा र स्वास्थ्य परीक्षणको सुविधा, व्यक्तिगत, पारिवारिक र वातावरणीय सरसफाईमा विद्यार्थीसँग सहकार्य गर्ने संस्कार ।
२०४८ सालमा स्थापित क्षेत्रपालेश्वरी प्राथमिक विद्यालय शिखरपुर, सिन्धुपाल्चोकमा २०६० सालमा २५ जना विद्यार्थी र एकजना शिक्षक थिए । विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक समितिको बैठक वर्षको एकपटक हुने गथ्र्यो । २०६१ सालमा बालमैत्री विद्यालयको अवधारणाअनुरुप पाँचवर्षे विद्यालय सुधार योजना तर्जुमा गरियो । बालमैत्री–रुजुसूची (चेक–लिष्ट) बमोजिम शिक्षक; अभिभावक र विद्यार्थीले हरेक ६– ६ महिनामा विद्यालयको प्रगति समीक्षा गर्दै योजना बनाई सोही अनुसार कार्यान्वयन गर्न थाले । विद्यालयका अध्यक्ष र प्रअले त्यसको अगुवाई गरे । बालअधिकार, बालमैत्री विद्यालय, सक्रिय शिक्षण सिकाइ, सामाजिक लेखापरीक्षणजस्ता विषयमा छलफल , अन्तरक्रिया र तालिमहरू पनि आयोजना गरिए । स्थानीय आमा समूह, सामुदायिक वन, गाविस, जिल्ला शिक्षा, महिला आत्मनिर्भर केन्द्र आदिसँग को सहकार्यमा विद्यालय सुधार योजना कार्यान्वयन गर्दै अघि बढ्दा २०६३ सालमा गाउँका विद्यालय उमेरका सबै २०१ बालबालिका (१०३ बालिका) प्राथमिक विद्यालयमा भर्ना भए; र सबै बालबालिकाले कक्षोन्नति पनि गरे । त्यस विद्यालयमा शारीरिक दण्ड पूरै निषेध गरिएको छ । हरेक शुक्रबार बालक्लबको अगुवाई अतिरिक्त क्रियाकलाप सञ्चालन हुन्छ । हाल विद्यालयमा जिल्ला शिक्षाबाट २, गाविसबाट १, सामुदायिक वनबाट १ र गाउँलेको सहयोगमा २ जना गरी ६ जना शिक्षकहरू कार्यरत छन् । बालमैत्री विद्यालयका लागि चाहिने न्यूनतम अन्य सुविधाहरू विद्यालयमा जुटाइएको छ । विद्यालयको सेवा क्षेत्रभित्रका १ जना पनि बालबालिका विद्यालय बाहिर छैनन् भने विद्यालय भर्ना भएका सबै बालबालिका विद्यालयमा नियमित मात्र होइन, वार्षिक परीक्षामा समेत उत्तीर्ण हुने गरेका छन् ।
सन्निकोट प्रावि कालिका–६, अछाममा २०६१ मा ६५ जना विद्यार्थीका लागि तीन जना शिक्षक थिए । गाउँका धेरै केटाकेटी विद्यालय बाहिरै थिए भने अभिभावकलाई विद्यालयको चासो थिएन । २०६२ मा बालमैत्री त्यस विद्यालयमा विद्यालयको अवधारणा कार्यान्वयन गर्न प्रारम्भ गरियो । सर्वप्रथम शिक्षक र अभिभावकको सहभागितामा विद्यालय सुधार योजना बनाइयो । त्यसको कार्यान्वयनमा गाउँको बालक्लबलाई समेत क्रियाशील तुल्याइयो । परिणामतः २०६४ सालको शैक्षिक सत्र शुरु हुँदा एचआईभी/एड्सका कारण आमाबाबुगुमाएका तीन जना बालबालिकासमेत विद्यालयको सेवा क्षेत्रभित्रका सबै ३६० बालबालिका विद्यालय भर्ना भई नियमित पढ्न थालेका थिए । शिक्षकको सङ्ख्या निजी तवरमा भर्ना गरिएका ३ जनासमेत ७ पुगेको छ । कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन पद्धति थालिएको छ । बालमैत्री–रुजुसूची बमोजिम शिक्षक अभिभावक र विद्यार्थीहरूले हरेक ६–६ महिनामा विद्यालयको प्रगति समीक्षा तथा योजना तर्जुमा गर्दै कार्यान्वयन गर्न थालेका छन् । प्रत्येक महिनाको एक दिन कक्षागत अभिभावक भेला हुन्छ । विद्यालयमा पर्खालबाहेक बालमैत्री विद्यालयका लागि आवश्यक न्यूनतम पूर्वाधारको व्यवस्था भएको छ । २०६५ सालमा विद्यालयलाई अनिवार्य र पूर्णतः निःशुल्क घोषणा गरिँदैछ ।
यसै गरी; काभ्रेको खड्केश्वरी र शिवशक्ति प्रावि, जुम्लाको श्रीढुस्का प्रावि र भैरव निमावि; धुपीढुस्का, उदयपुरको राजवास प्रावि, दाङको हलवार मावि र बाग्लुङको जनचेतना प्रावि तथा तितौरे निमावि पाला पनि बालमैत्री विद्यालयका नमुना भएका छन् । अन्य कैयौं विद्यालयहरू बालमैत्रीमा परिणत भइसकेका छन् । विद्यार्थी र अभिभावकसँग बालमैत्री विद्यालयको सफलताको कारण सोध्दा सबैभन्दा बढी जश शिक्षकहरूको नेतृत्व र प्रतिबद्धतालाई दिने गरेको पाइन्छ भने शिक्षकहरूले चाहिँ अभिभावकको सहयोग र जागरुकतालाई सफलताको स्रोतका रूपमा उल्लेख गर्छन् । अन्य पक्षहरूको भूमिका महत्वपूर्ण रहँदारहँदै पनि शिक्षकको प्रतिबद्धता, जागरुकता र सक्रिय नेतृत्वमा मात्रै बालमैत्री विद्यालयको सफल कार्यान्वयन सम्भव हुने तथ्य भने शङ्कारहित नै देखिन्छ ।
प्रधानाध्यापकको कुशल नेतृत्वमा बालमैत्री विद्यालयहरू निम्न साझ उद्देश्य हासिल गर्न क्रियाशील रहनु पर्छः
- बालबालिकाको समग्र विकास मा सहयोग गर्न ।
- विद्यार्थीलाई भर्ना हुन वा विद्यालयको अध्ययन पूरा गर्न प्रोत्साहित गर्न ।
- शिक्षकको मनोबल वा हौसला वृद्धि गर्न ।
- विद्यार्थीको प्राज्ञिक (शैक्षिक ) सफलता सुनिश्चित पार्न ।
- बालबालिकामा पूर्ण सुरक्षाको अनुभूति गराउन, कक्षाकोठा र विद्यालय परिसरको उचित प्रबन्ध गर्न ।
- विद्यालय तथा समाज मा बाल सहभागिता प्रोत्साहित गर्न ।
- शिक्षाका लागि सामुदायिक सहयोग परिचालन गर्न । साधारणतया, औसत अभिभावकले बालबालिकाको
सिकाइ गर्ने मुख्य थलो विद्यालय भएको ले उनीहरूको सिकाइका लागि विद्यालय नै जिम्मेवार हुन्छ भनी सोच्ने गर्छन् । तर बालबालिकाको सिकाइको लागि विद्यालयका साथै घरको भूमिका पनि उत्तिकै जिम्मेवार हुन्छ । हरेक बालबालिकासँग आफ्नै किसिमका सिकाइको तरिका र क्षमता हुन्छ । घरको वातावरणले उसकोगुण र चरित्र निर्माणमा अहम् भूमिका खेलेको हुन्छ भने विद्यालयले उसमा निहितगुण तथा चरित्रलाई उजागर गर्न सहयोग गर्छ । यसको लागि बालबालिकाले विद्यालयमा सुलभता, संरक्षण, सहभागिता र समान अवसरहरू पाउनुपर्छ । बालमैत्री विद्यालय मात्र त्यस्तो विद्यालय हो जसले शिक्षकको नेतृत्वमा यी सबै कुरा हरूको सुनिश्चितता प्रदान गर्न सक्छ ।
कुनै पनि विद्यार्थीलाई शिक्षकबाट दिइने प्रेरणा, हौसला; प्रोत्साहन र बोलिने राम्रा शब्द (जस्तैः ‘स्याब्बास’, ‘ठीक’, ‘रराम्रो’) ले सिक्न उत्साहित बनाउँछ भनेगाली, बेइज्जत, दण्ड, सजाय, पिटाइ जस्ता नकारात्मक व्यवहारले उसलाई दुः खित बनाउँछ । नकारात्मक बोली व्यवहारको शिकार भएका बालबालिकामा हीन–मनोभावना (इनफेरिएटी कम्प्लेक्स) को विकास हुने, विद्यालयमा अनियमित हुने, बीचमै विद्यालय छोड्ने, परीक्षामा असफल हुने, शिक्षकप्रतिको सोचाइ नकारात्मक रहने र विद्यालयलाई सजाय दिने केन्द्रको रूपमा लिने प्रवृत्ति हावी हुनपुग्छ । अतः बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयनका लागि सर्वप्रथम शिक्षक आफू बदलिनुपर्छ र क्रमशः अभिभावक र विद्यार्थीलाई बदल्नुपर्छ ।
नेपाली परिवेशमा शिक्षाको गुणस्तर र बालमैत्री अध्यापनका लागि शिक्षक साधन र साध्य दुवै भएको छ । शिक्षकले चाहेमा अभिभावक वातावरण दिन तयार छन् भने विद्यार्थी आफ्नो कर्तव्य र मर्यादा पूरा गरी सक्षम नागरिक बन्न आतुर । पाठ्यक्रमलाई सान्दर्भिक तुल्याई बालबालिकाको रुचि र क्षमता अनुसार मायालु वातावरणमा सिक्ने–सिकाउने कार्य मूलतः शिक्षकको मनोबल, क्षमता र प्रतिबद्धतामा नै निर्भर गर्छ । यसका लागि शिक्षकहरूले बालमैत्री विद्यालयको अवधारणा, सूचक र विधिहरूको बारेमा स्वाध्यायन, उपयुक्त शिक्षण–प्रशिक्षणमा सहभागिता, आफ्नो शिक्षण अनुभव र विगत वर्षहरूको सिकाइका आधारमा विद्यालय र कक्षाकोठालाई मात्र होइन शिक्षण सिकाइका हरेक क्रियाकलाप लाई बालकेन्द्रित र बालमैत्री तुल्याउन लागिपर्नुको विकल्प छैन ।
डा. भोलाप्रसाद दाहाल(सभार शिक्षक मासिक) (दाहाल काठमाडौं विश्वविद्यालयमा शिक्षाशास्त्रका शोधार्थी हुनुहुन्छ ।)