बागलुङमा १७ आ‌ैं पुस्तकालय दिवस मनाइने

-


     हिडन खबर    
     भाद्र ८ गते २०८१ मा प्रकाशित


बागलुङ । निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श नारा साथ नेपाल कै पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङले १७ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने भएको छ ।

शुक्रबार बसेको पुस्तकालय कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने निर्णय गरेको हाे।

पुस्तकालय दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको छ ११ गते प्रचारात्मक कार्यक्रमसहित पुस्तकालय परिसर सरसफाइ गरिनेछ ।

१२ र १३ गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनशील लेखन कार्यशाला’ आयोजना गरिने भएको छ ।

उक्त कार्यक्रम प्याब्सन, एनप्याब्सन, बागलुङ जेसीज, सदरमुकामस्थित केही सामुदायिक विद्यालयलगायतसँगको सहकार्यमा गरिने भएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए ।

कार्यशालाको सहजीकरणका बाल साहित्यकार यशु श्रेष्ठले गर्नु हुने भएको छ।

कार्यशालामा मूलतः कथा, कविता, निबन्ध सहित बालबालिकामा लेखन सीप प्रर्वद्धन, बालबालिकामा बढ्दो मोबाइलको नकारात्मक लत न्यून गर्ने र मोबाइललाई कसरी सिकाइमा उपयोग गर्ने, शिक्षणमा कथावाचनको महत्व, प्रभाव र तरिकाबारे शिक्षकहरूसँग पनि अन्तरक्रिया गरिने भएको छ।

साथै १४ गते बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता र १५ गते मूल समारोह रहेको छ ।

सोही समारोहमा धवलागिरि क्षेत्रमा पुस्तकालयको विकास र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउनुभएका धौलागिरि बहुमुखी क्याम्पस र विद्यामन्दिर पुस्तकालमासमेत झण्डै ४० वर्ष योगदान दिनुभएका पुस्तकालय संरक्षक समितिका सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान गर्ने निर्णय भएको छ ।

दिवसकै अवसर पारेर समिति र कार्यालयमा कार्यरत महिला दिदीबहिनीहरूको सम्मानमा शुभकामना आदानप्रदानसहित तीजको दर खाने, दिवसको ब्यानर प्रदर्शन, बालविकास केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण,खेलौना र स्टेशनरी सामग्री वितरण गर्ने र जिल्ला प्रहरी कार्यालयको हिरासतमा प्रयोग हुने गरी पुस्तकालयका तर्फबाट उपयोगी पुस्तक हस्तान्तरण कार्यक्रम रहेको छ ।

विसं २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ ।

धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

अहिले पुस्तकालयमा बालबालिकाहरुलाई रमाएर अध्ययन गर्न सहज होस भनि वाल पुस्तकालय स्थापना गर्ने अभियानको पनि सुरुवात भएको छ ।