तमानखोला गाउँपालिकामा शैक्षिक तालिम तथा कार्यशाला सम्पन्न

- सरकारले शैक्षिक अभिलेखिकरणलाइ सहज र सरल बनाउन एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) लागू गरेसँगै सम्पूर्ण बिद्यालयहरुले आफ्नो बिद्यालयका सम्पूर्ण अभिलेख आफै राख्न र मिलाउन सक्ने गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

-


     हिडन खबर    
     वैशाख २७ गते २०८० मा प्रकाशित


बागलुङको तमानखोला गाउँपालिकामा शैक्षिक तालिम
तथा कार्यशाला सम्पन्न भएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना बुधबार एक दिने इमिस तालिम तथा कार्यशाला सम्पन्न भएको हो ।

सो तालिममा गाउँपालिका भित्रका २१ सामुदायिक र २ संस्थागत गरि २३ बिद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षक गरि कुल ४१ जनाको सहभागीता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरेले बताउनुभयो ।

सरकारले शैक्षिक अभिलेखिकरणलाइ सहज र सरल बनाउन एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) लागू गरेसँगै सम्पूर्ण बिद्यालयहरुले आफ्नो बिद्यालयका सम्पूर्ण अभिलेख आफै राख्न र मिलाउन सक्ने गराउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

तालिमको प्रशिक्षण बडिगाड गाउँपालिकाका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत पुर्ण घर्तीले गर्नुभएको थियो । तालिममा बिद्यालयको विवरण, बिद्यार्थी विवरण, प्राप्ताङ्क, आन्तरिक मुल्यांकन लगायतका सम्पूर्ण तथ्यांक कसरी अपलोड गर्ने, कसरी सच्याउने लगायतका सबै प्रक्रियाको प्रयोगात्मक विधिद्वारा सिकाइएको प्रशिक्षक घर्तीले बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष जोकलाल बुढाले समाजको सुधार गर्न शिक्षाको सुधार आवश्यक रहेको बताउनुभयो । जबसम्म समाजमा शिक्षाको माध्यमबाट नागरिकको चेतनास्थर उकास्न सकिदैन तबसम्म समाजको दिर्घकालीन सुधार नहुने र त्यसको लागि शिक्षकनै इमानदारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।

तालिमको माध्यमबाट इमिसमा भएका सम्पूर्ण दुबिधाहरु हटेको र आगामी दिनमा आफै विवरणहरु राख्न सकिने भएको शिक्षक प्रकाश अधिकारीले बताउनुभयो ।