
बागलुङ बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ताको भिड लागेको छ ।
बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सहकारीले सूचना मार्फत जनाएको छ ।
सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरि सेवा दिइरहेको छ ।
सहकारीले बैशाख ६ गतेको संचालक समितिको बैठक बसेको भनि सूचना जारी गरे पनि सूचना जारी गरेको मिति २०८० साल बैशाख र गतेमा शुन्य उल्लेख गरेको छ । यस्तो सूचनाले सेयर सदस्य र बचतकर्ताहरुलाई झन आशंका उत्पन्न गरेको छ ।
यस सहकारीमा जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट पठाएको रकम, सेवा निवृत्त शिक्षक, कर्मचारी र बालबालिकाहरुका करौडौं रकम बढि व्याज पाउने आशमा बचतकर्ताहरुले जम्मा गरेका थिए ।बचतकर्ताहरुको आक्रोशित भिडले कार्यालय बन्द हुनुको कारण र आफनो जम्मा रकमको सुरक्षाको बारेका सहकारीका संचालक चित्र बहादुर भण्डारीलाई घेरेर प्रश्न गरेका थिए ।
सहकारीले केहि दिन भित्रै रकम व्यवस्था गरेर प्रकृयागत रुपमा बचत रकम विस्तारै फिर्ता गर्ने संचालक भण्डारीले बताए । सहकारीको नाममा कराडौंको नाम अचल सम्पत्ति भएकोले बचतकर्ताहरुले चिन्ता लिनु नपर्ने संचालक भण्डारी सहकारीमा आएका बचतकर्ताहरुलाई आवश्त पार्न खोजे पनि बचतकर्ताहरुको आक्रोश कम भएको थिएन ।
केहि महिना अगाडि बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोलमा संचालित शिव शिखर सहकारी समस्याग्रस्त हुँदा हजारौं बचतकर्ताहरुको ४० करोड रकम जोखिममा परेको छ भने शिव शिखर सहकारीमा पनि अहिले बन्द रहेको छ ।
बचतकर्ता एकैपटक चल्ती र मुद्दतीको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकोले केही दिनमा दिने संस्थापक अध्यक्ष देब कुमार नेपालीले बताए । लगानी भएको कर्जा असुली नभएका कारण व्यवस्थापन गर्न समय लाग्ने जानकारी दिए।
सहकारीमा बचतकर्ताहरुको भिड बढेको मौखिक जानकारी प्राप्त भएपछि सुरक्षाको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
